सुर्खेतबाट गिरफ्तार क्रान्तिकारी माओवादीका कार्यकर्ताहरु रिहाः पार्टीद्धारा सम्मान

होटेल सम्मानमा पत्रकार भेटघाट कार्यक्रम

सुर्खेत । गत १३ गते सुर्खेतबाट गिरफ्तार गरिएका नेकपा (क्रान्तिकारी माओवादी) निकटको क्रान्तिकारी युवा लिगका जिल्ला नेताहरु आज रिहा भएका छन ।

कार्यकर्ताको रिहाई भएपछि पार्टीले उनीहरुलाई एक कार्यक्रमबीच सम्मान गरेको छ । उनीहरु जिल्ला प्रशासन कार्यालयको आदेशमा  रिहा भएका हुन ।

क्रान्तिकारी माओवादी समर्थित देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालको मेची महाकाली अभियानको क्रममा १३ गते सुर्खेतमा आयोजित जनसभा सकेर साँझ फर्कने क्रममा वाङ्गेसिमनबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

जनसभाबाट फर्कने क्रममा क्रान्तिकारी युवा लिग सुर्खेतका उपाध्यक्ष मिलन शाही र सदस्य शिव कडेललाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला प्रशासन कार्यालयको सामान्य तारिखमा आज छाडिएको बताइएको छ ।

क्रान्तिकारी माओवादीको ६ नम्बर प्रदेशका कार्यबाहक सेक्रेटरी कृष्ण गुरुङले हरपलसँग कुराकानी गर्दै भने–‘उहाँहरुलाई बिना कारण राज्यले गिरफ्तार गरेको थियो, पार्टीको दवावपछि आज पचास हजार धरौटीसहित तारिखमा छाडिएको छ ।’

राज्यको दमनकारी नीतिको क्रान्तिकारी माओवादीले विरोध गरेको छ । त्यसैगरी रिहा भएका कार्यकर्ताहरुको सम्मानका लागि सुर्खेतको विरेन्द्रनगर स्थित होटेल सम्मानमा ‘पत्रकार भेटघाट तथा कार्यकर्ताको सम्मान’ कार्यक्रमको समेत आयोजना गरिएको छ ।

क्रान्तिकारी पत्रकार महासंघको पहलमा अहिले ४ः३० बजे उक्त सम्मान तथा पत्रकार भेटघाट कार्यक्रमको हुने भएको छ । उक्त कार्यक्रममा रिहा भएका कार्यकर्ताहरुलाई पार्टीका नेताहरुले टीका र खादाले सम्मान गर्दै राज्यको निरंकुशता विरुद्ध आउँदा दिनहरुमा थप उर्जावान भएर प्रतिरोध गर्न निर्देशन दिने बुझिएको छ ।

आफ्ना कार्यकर्ताहरुलाई बिना कारण गिरफ्तार गरेको भन्दै क्रान्तिकारी माओवादीका नेताहरुले तुरुन्त नछाडेमा कडा संघर्ष गर्ने भन्दै चेतावनी दिदैँ आएका थिए ।

हिजो मात्र चितवनमा सम्पन्न देजमोको अभियानको समापन सभामा बोल्दै क्रान्तिकारी माओवादीका प्रवक्ता हरीभक्त कडेल प्रतिकले राज्यको दमनकारी नीतिको विरोध गर्दै कार्यकर्तालाई तुरुन्त छाड्न चेतावनी दिएका थिए ।