मधेशवादी दलहरु मधेशी जनताको हैन, दलाल व्यवस्थाको नेतृत्व गर्दैछनः अध्यक्ष यादव (भिडियोसहित)

जनअधिकारका लागि आन्दोलनमा उत्रिन आह्वान

महोत्तरी । नेकपा (क्रान्तिकारी माओवादी) निकटको मधेशी राष्ट्रिय मुक्ति मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष विरेन्द्रकुमार यादवले आफुलाई मधेशको मसिया ठान्ने मधेशवादी दलहरुले झुटको राजनीति गरेको आरोप लगाएका छन ।

क्रान्तिकारी माओवादी निकटको देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालले गत ७ गतेदेखि देशव्यापी रुपमा सञ्चालन गरेको मेची महाकाली जनजागरण तथा परिचालन अभियानको क्रममा महोत्तरीको रामगोपालपुर बजारमा हिजो सम्पन्न कोणसभालाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन ।

मधेशी मक्ति मोर्चाका अध्यक्ष यादले मधेंशका स्थानीय नागरिकहरु शिक्षा, स्वास्थ्य, रोजगार जस्ता सुविधाबाट राज्यको असमान नीतिका कारण बञ्चित हुनु परेको भन्दै मोर्चाको तर्फबाट विरोध जनाए ।

क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा महोत्तरी जिल्ला इन्चार्ज समेत रहेका यादवले मधेशवादी राजनीति गर्ने दलहरुले जनतालाई झुक्याउँदै सत्ताँ स्वार्थको राजनीति गरिरहेको बताए ।

उनले भने–‘यहाँ जनताहरु आधारभूत सेवाबाट बञ्चित छन, तर आफुलाई मधेशको मसिया ठान्नेहरु जनघाती, राष्ट्रघाती सत्ताँ टिकाउन जुटिरहेका छन, उनीहरु जनताको व्यवस्था परिवर्तनको चाहना विरुद्ध अघि बढेका छन, स्वार्थ सिद्ध राजनीति गरिरहेका छन ।’

तराई मधेशमा क्षेत्रिय तथा जातीय राजनीति गरेर जनतालाई झुट्टा सपना देखाउँदै आन्दोलन चर्काएका मधेशवादी दलहरुको वास्तविकता विस्तारै उजागर बन्दै गएको बताए ।

उनले भने–‘कुनै बेला मधेशलाई उपेक्षा गर्ने एमालेका नेताहरुलाई यहाँका जनताले निषेध गरे, मधेशी जनताले परिवर्तनका लागि, अधिकारका लागि आन्दोलन गर्दा गोली चलाउने फाँसिस्ट सत्ताँको नेतृत्व अहिले केपी ओलीले गर्दैछन, र त्यसलाई कथित मधेशवादी दलहरु (राजपा, फोरम) लगायतले भित्रबाट र बाहिरबाट मलजल गर्दैछन, यसले ति मधेशवादी दलहरुको वास्तविक रुप प्रष्ट पारेको छ ।’

उनले पटक पटक मधेशका जनताको नाममा सत्ताँ स्थार्थ र जालझेलको राजनीति भएको कारण त्यहाँका जनताको वास्तविक माग र चाहनाको अहिलेसम्म सम्बोधन हुन नसकेको तर्क गरे ।

उनले आफ्नो पाटीले तराई मधेशको वर्गिय उत्पीडन, सामाजिक विभेदको अन्त्य गर्नको लागि, जनताको हक, अधिकारको सुनिश्चिताको लागि राज्यको आमूल परिवर्तनको मुद्धा अघि सारेको भन्दै उक्त प्रकृयामा जोडिन सबैसँग आह्वान समेत गरे ।

‘मुलुकमा सामाजिक अपराध बढेका छन, हत्या बलात्कारका दोषीहरु खुलेयाम हिडेका छन, जताकतै भ्रष्ट, तस्कर र माफीयाहरु सलबलाएका छन तर राज्य त्यसको नियन्त्रण भन्दा पनि संरक्षण गरिराखेको देखिन्छ, यो कहिलेसम्म स्विकार्य हुन्छ ? अब विद्रोहको विकल्प छैन ।’–उनले भने ।

‘मुलुकको सीमाना भारतीय विस्तारवादले अतिक्रमण गरिरहेको छ, सीमा क्षेत्रका समस्या उस्तै छन, तर सरकार किन मौन छ ? हाम्रो देशको चिन्ता नागरिकलाई जति राज्यलाई किन छैन ? यसले यो राज्य दलालहरुको मिलेमतोमा चलेको प्रष्ट हुन्छ ।’–उनले भने ।

उनले भने–‘कतिपयले मुलुकमा विखण्डनको नारा लगाएर फोहरी राजनीति गरिरहेका छन भने, त्यसको समर्थनको ओली सरकार जनताको परिवर्तनको चाहनालाई कुठाराघात गर्दै अघि बढेको छ । अब ति सबै दलालहरुका विरुद्ध सचेतन संघर्ष गर्नुको विकल्प छैन ।’

उनले प्रदेशको नामाकरण नम्बरका आधारमा राखिएको प्रति विमति जनाउँदै भने–‘यो कस्तो संघीयता हो ? न जनताको अधिकार सुनिश्चित भएका छन, नत पहिचानको विषय समेटिएको छ । जनताको चाहना किन कुल्चिन खोजिदैँछ ? यो विषयले आश्चार्यजन, सबै मधेशी जनताले यसको विरोध गरेका छन ।’

राज्यको हेपाहा नीति, मधेशवादी दलहरुको भुटको राजनीति र जनन्यायीक व्यवस्थाको चाहनामा गरिएको बेइमानी जस्ता विषयमा आफ्नो पार्टी निकटको मोर्चाले जनतासँग छलफल गरेर त्यसको विकल्प खोज्नका लागि अहिले देशव्यापी अभियान सञ्चालन गरिरहेको उनले बताए ।

उनले तराई मधेको उत्पीडन, समस्या र जनताको मागहरुको सम्बोधन गर्नका लागि वर्तमान व्यवस्थाको खारेजी गर्नुपर्नेमा जोड दिए । उनले जनताको व्यवस्था ल्याउनका लागि पुर्न एक पटक संघर्ष वा अर्को चरणको आन्दोलन गर्नुपर्ने भन्दै उक्त प्रकृयामा जोडिन अपिल समेत गरे ।

उनले अहिलेको व्यवस्था फाँसिवाद उन्मुख भएको भन्दै त्यसको विकल्प संघीय जनगणतन्त्र भएको र त्यो जनताको सडक आन्दोलनले प्राप्त गर्न सकिने बताए ।

रामगोपाल चोकमा भएको उक्त कार्यक्रममो सञ्चालन पार्टीका सेक्रेटरी उपेन्द्र यादवले गरेका थिए । सेक्रेटरी यादवले सञ्चालनसँगै सभालाई सम्बोधन गर्दै मधेशी जनताको मुक्ति र समस्याको समाधानका लागि क्रान्तिकारी माओवादीले लिएको नीति तथा कार्यक्रममा सहभागि हुनुपर्नेमा जोड दिएका थिए ।