‘सरकारको रोजगारी योजना, कार्यकर्ता पाल्ने बहना’–सीपी गजुरेल (भिडियोसहित)

मधेशको समस्या आन्दोलनकै प्रकृयाबाट हल हुन्छ

सिराहा । वर्तमान सरकारले युवा रोजगारी योजनाको नाममा आफ्नो पार्टीका नेता, कार्यकर्ताहरुलाई तलब, भत्ता र अन्य सुविधाहरु बाड्दै हिडेको आरोप एक जना पुराना कम्युनिस्ट नेताले लगाएका छन ।

देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालको आयोजनामा देशव्यापी रुपमा गत मंगलबारदेखि सञ्चालित मेची महाकाली अभियानको क्रममा हिजो सिराहाको सभालाई सम्बोधन गर्ने क्रममा उनले त्यस्तो आरोप लगाएका हुन ।

मोर्चाका अध्यक्ष गजुरेले हिजो सिराहामा सम्पन्न दुई वटा कोण सभामा सम्बोधन गरेका थिए । उनले जिल्ला सदरमुकाम सिराहा र साँझ लहान बजारमा सम्पन्न कोण सभालाई सम्बोधन गर्ने क्रममा सरकारले भ्रष्टाचारीलाई बढवा दिएको भन्ने धारणा व्यक्त गरें ।

उनले मुलुकको विकासमा लगाउनुपर्ने युवा जनशक्तिलाई ओली सरकारले विदेशको विकासका लागि श्रम बिक्रि गर्न बाध्य पारेको र वैदेशिक मजदुरहरुको करबाट आउने रकम एयर कन्डिसनमा रमाउँदै खर्चेको भन्दै चर्को आलोचना गरे ।

उनले ओली प्रचण्डहरुको पार्टी एकतापछि बनेको सरकार सबैभन्दा जनघाती भएको बताए । उनले भने–‘जनयुद्धको शुरुवातको अवस्थामा हामीले गणतन्त्र माग्दै गर्दा बयलगाडा चढेर अमेरिका पुगिदैँन भनेर व्याङ्ग्य गरेका थिए तर अहिले गणतन्त्र भनिएको वर्तमान व्यवस्थाको आफैले नेतृत्व गरिरहेका छन । अब उनीबाट हामीले के अपेक्षा गर्ने ?’

वर्तमान सरकार भ्रष्ट, दलाल र राष्ट्रघाती, जनघातीहरुको सरकार भएको भन्दै उनले यसबाट देश र जनताको पक्षमा कुनै पनि अपेक्षा गर्नु बेकार हुने ठोकेवा गरें ।

उनले भने–‘यो सरकारबाट जनताको अधिकार सुनिश्चित गर्ने संकेत देखिन्न । यसले रोजगार योजनाको नाममा छुट्याएको रकम आफ्ना कार्यकर्ताहरुको व्यावस्थापनमा खर्चदै छ, मुलुकमा लुटतन्त्र चलाउँदै छ ।’

उनले ओली सरकारको पालामा मुलुकमा ठूला ठूला भ्रष्टाचार काण्ड भएको भन्दै विभिन्न बाहनामा राज्यको ढुकुटी रित्याउँदै लगेको आरोप लगाए ।

मुलुकमा निर्यात व्यापारको तुलनामा आयात व्यापार ओली सरकारको पालामा निक्कै बढेको भन्दै उनले भने–‘राज्यको व्यापारीक नीतिले हामीलाई भारत निर्भर बनाएको छ, यसले राष्ट्रिय उत्पादन घटेको छ, एकाध व्यक्तहरु मोटोएका छन, यो दलाल पूजिँवादको अवस्था हो ।’

राज्यले कृषकको हितमा कुनै कार्यक्रम वा सुविधा नल्याएको भएपनि कृषकमाथि विभिन्न वहानामा चर्को कर लगाएको भन्दै उनले राज्यलाई कुनै प्रकारको कर नतिर्न आग्रह गरे ।

अहिले मुलुकमा लोकतान्त्रीक गणतन्त्र रहेको भन्दै उनले त्यो माओवादी आन्दोलनमो मुद्धा नभएको प्रष्ट पारे । उनले वर्तमान व्यवस्थाले दलाल र माफियाहरुको हित गर्ने भन्दै जनता र राष्ट्रको आवश्यकता संघीय जनगणतन्त्र भएकाले पुन सघर्ष गर्नुपर्नेमा जोड दिए ।

मधेशमा थुप्रै समस्याहरु भएपनि यहाँको समस्यालाई बोकेर राजनीति गर्ने मधेशवादी दलहरु त्यहि प्रतिकृयावादी सत्ताँमा सघाउन पुगेको र उसले जनताको समस्यालाई भन्दा नेता केन्द्रीत स्वार्थवाद हावी बनाएको बताए ।

उनले तराई मधेश र देशका आम उत्पीडित वर्म समुदायका जनताको मुक्तिको खातिर, हक अधिकारको सुनिश्चितताका लागि वर्तमान संसदीय व्यवस्थालाई फालेर जनगणतान्त्रीक व्यवस्था ल्याउनुपर्ने बताए ।

उनले जनताको व्यवस्था ल्याउनका लागि सडक आन्दोलन मुख्य माध्यम बन्ने भन्दै चैत्र २४ गते जनआन्दोलनको दिन काठमाडौंबाट अर्को तयारीको उद्घोष गर्नका लागि सबै नागरिकहरुलाई सहभागि हुन आह्वान समेत गरें ।

क्रान्तिकारी माओवादीका कार्यकर्ता शम्भु शाहले सञ्चालन गरेको उक्त कोणसभाको कार्यक्रममा पार्टीका पोलिटव्यूरो सदस्य तथा प्रदेश नम्बर २ का सेक्रेटरी कृष्णदेवसिंह दनुवारले समेत सम्बोधन गरेका थिए ।

कृष्णदेवले मधेशी जनतालाई हक, अधिकारको लागि पुर्न एक पटक सघर्षमा सहभागि हुन आग्रह गरे । उनले क्रान्तिकारी माओवादी मात्र देश र जनताको पक्षमा लड्ने वास्तविक शक्ति भएको भन्दै पार्टीले आयोजना गर्ने सबै कार्यक्रममा सहभागि हुन आग्रह गरेका थिए ।

सयौंको सहभागिता रहेको उक्त कार्यक्रम पश्चिात अभियान टोली जिल्लाका अन्य क्षेत्रहरुमा गएको थियो । युवा, विद्यार्थी, पत्रकार सहित दजर्नौको टिम ठाउँ ठाउँमा अभियान चलाउँदै हिडेको छ ।