सुर्खेतमा र्यालीसहित देजमोको भव्य जनसभाः राष्ट्रियताको आन्दोलनमा जोड

भ्रष्ट, दलालहरुमाथि निगरानी बढाउन निर्देशन

सुर्खेत । नेकपा (क्रान्तिकारी माओवादी) निकटको देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालको जारी मेची महाकाली जनजागरण अभियानको क्रममा हिजो प्रदेश नम्बर ६ को सुर्खेतमा र्यालीसहित भव्य जनसभा सम्पन्न भएको छ ।

देजमोको आयोजनामा सुर्खेतको मंगलगढी चोकबाट अघि बढेको र्याली गणेश चोक हुँदै पिपल चौतारामा पुगेर जनसभामा परिणत भएको थियो ।

क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा देशभक्त जनगणतान्त्रीक मोर्चाको ६ नम्बर प्रदेशका संयोजक दिपकबहादुर शाहीको अध्यक्षतामा सम्पन्न भएको उक्त जनसभामा मोर्चाका केन्द्रीय सचिव परी थापको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै उक्त जनसभामा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा प्रदेश नम्बर ६ र ७ का इन्चार्ज रामसिंह श्रीसको विशेष आतिथ्यता रहेको थियो भने पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश कार्यवाहक सेक्रेटरी कृष्ण गुरुङ, अन्य केन्द्रीय सदस्यहरु शिशिर, हिरामणी, संङ्कुलको उपस्थिति रहेको थियो ।

त्यस्तै सहीद, योद्धा तथा घाइते परिवार समाज दैलेखका उपाध्यक्ष केहरसिंह बुढा मगर, लगायत विद्यार्थी, पत्रकार, युवा संगठनका नेता, कार्यकर्ताका साथै सयौं सर्वसाधारण नागरिकहरुको समेत उक्त कार्यक्रमा सहभागिता रहेको बताइएको छ ।

सहिद योद्धा तथा घाइते परिवार समाजका भरतकुमारी रग्मीले सञ्चालन गरेको उक्त कार्यक्रममा मञ्चमा आसिन प्रमुख अतिथि, विशेष अतिथि र पार्टीका केन्द्रीय सदस्यहरुले सम्बोधन गरेका थिए ।

बिहान ११ः३० बजें शुरु भएको र्याली १२ः३० बजे जनसभामा परिणत भएको थियो भने जनसभा साँझ पाँच बजेसम्म चलेको बताइएको छ ।

जनसभामा सम्बोधन गर्ने अधिकांश वक्ताहरुले वर्तमान सरकार र व्यवस्थाबाट जनताको हक, अधिकारको रक्षा गर्न नसक्ने भन्दै अर्को क्रान्ति वा आन्दोलनको तयारीमा जुट्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमका प्रमुख वक्ता परी थापाले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको समस्याहरु दिनानु दिन विकराल बन्दै गएको भन्दै अब राष्ट्रियताको लागि पुर्न एकपटक सडक आन्दोलनमा उत्रिनु पर्ने बताए ।

उनले मुलुकमा भ्रष्टाचार, दलाल, तथा पूजिपति वर्गको हितमा वर्तमान सरकार संरक्षकको भुमिकामा रहेको भन्दैं दलालहरुको व्यवस्था परास्त गर्नुपर्नेमा जोड दिए ।

त्यसैगरी क्रान्तिकारी माओवादीका नेता रामसिंह श्रीसले सरकार नै भ्रष्टहरुको संरक्षणमा देखिएको भन्दै सरकारी कर्मचारी, ठेकेदार तथा सबै क्षेत्रका मानिसहरुको विषयमा सुक्ष्म रुपमा निगरानी बढाउँदैं जन-कारबाहीको प्रकृया अघि बढाउन निर्देशन समेत दिए ।