नयाँ नेपाल निर्माणका लागि क्रान्तिको अर्को प्रकृयामा जुटौंः नेता कडेंल (भिडियोसहित)

राष्ट्रघात, जनघातका विरुद्ध प्रतिकार गर्नुपर्नेमा जोड

सिराहा । अहिलेको संविधान दलाल, तस्कर र पुजिपति वर्गको पक्षमा रहेको भन्दै नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर एक र दुईका इन्चार्ज हरीभक्त कडेंल प्रतिकले जनताले चाहेको जस्तो नयाँ नेपाल निर्माण गर्नका लागि क्रान्तिको अर्को प्रकृयामा जुट्नुपर्ने बताएका छन ।

क्रान्तिकारी माओवादी निकटको देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालले देशव्यापी रुपमा सञ्चालन गरेको मेची महाकाली जनजागरण अभियानको क्रममा हिजो (सोमबार) सिराहाको पुरानो चोहर्वा चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन् ।

जनताको न्यायपूर्ण क्रान्तिको प्रकृया सफलतातर्फ उन्मुख भएको बेला बाहिरी शक्ति र आन्तरिक प्रतिकृयावादी शक्तिले सड्यन्त्रपूर्वक जनताको परिवर्तनको चाहनामा कुठाराघात गरेको उनले बताए ।

उनले संविधान सभाको निर्वाचनलाई नौटंकी र त्यसबाट बनेको संविधान जनधाती व्यवस्थाको कबजको रुपमा व्याख्या गरे । उनले भने–‘कथित वामहरुको सरकार र वर्तमान संविधान जन चाहना अनुसार छैन, यो परिवर्तनगामी जनतामाथिको धोका हो । यसले यो संविधानले जनअधिकार हनन गरेको छ, यो आम नेपालीको पक्षमा छैन ।’

उनले पार्टी भित्रका बेइमान नेताहरुले उत्कर्षमा पुगेको न्यायपूण आन्दोलनलाई आफ्नो स्वार्थका अवसान बनाएको भन्दै आक्रोश व्यक्त गरें ।

उनले भने–‘सत्ताँमा टिकाउँन उनीहरुले अहिले जनतालाई भ्रममा राखेका छन, समाजवाद ल्याउने उनीहरुले झट्टो सपना बाडेका छन, वास्तवमा उनीहरुबाट देश र जनताको पक्षमा कुनै अपेक्षा गर्न ब्यार्थ छ ।’

उनीहरुले जनतामाथि ठूलो गद्दारी गरेको भन्दै धोका दिनेहरुलाई चिन्दै कुनै प्रकारको भ्रममा नबस्न उनले जनतालाई आग्रह समेत गरें ।

उनले ओलीको सरकार दलालहरुको संरक्षक बनेको भन्दै कडा शब्दमा विरोध गरे । उनले मुलुकमा निजिकरणको नाममा लुटतन्त्र चलेको भन्दै यतिबेला माफीया, तस्कर र भ्रष्टहरु सल्बलाएको बताए ।

मुलुकका अधिकांश कृषकहरु, मजदुरहरु समस्यामा रहेको भन्दै उनले चौतर्फि समस्याको घेराबन्दिमा रहेको व्यवस्था गणतन्त्र हुन नसक्ने तर्क अघि सारे ।

उनले भने–‘यो व्यवस्था सामन्तवादी व्यवस्था नै हो, यसमा वर्जुवा गणतान्त्रीक व्यवस्थामा जत्तिको पनि सुधार भएको छैन, यसको विकल्प खोज्नु अनिर्वाय छ ।’

उनले प्रश्न गर्दै भने–‘यो सरकार राष्ट्रियताको विषयमा किन मौन छ ? राष्ट्रियता भनेको जनता पनि हो, जनता र देशको लागि अहित हुने खालको राष्ट्रियता हामीलाई चाहिँदैन । हामी त्यो मान्दैनौं पनि ।’

उनले तत्कालिन माओवादीले लिएको संघीय जनगणतन्त्रको लागि संघर्षको बाटोमा आफ्नो पार्टी क्रान्तिकारी माओवादी निरन्तर अघि बढ्ने प्रतिबद्धता जाहेर गर्दै त्यसका लागि आवश्यक संघर्षका प्रकृयाहरुमा जोडिन आम नागरिकहरुमा आह्वान समेत गरे ।

हिजो साँझ करिब पाँच बजेबाट शुरु भएको उक्त कोणसभाको कार्यक्रमको सञ्चालन क्रान्तिकारी माओवादीका प्रदेश सदस्य शम्भु शाहले गरेका थिए । कार्यक्रममा करिब एकसय बढि मानिसहरुको सहभागिता रहेको बताइएको छ ।