सिराहामा देजमोको जनजागरण अभियानः विभिन्न १२ स्थानमा कोणसभा

सडक संघर्षमा जोडः जनगणतन्त्र स्थापनाको माग

सिराहा । नेकपा (क्रान्तिकारी माओवादी) निकटको देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालले गत मंगलबारेदेखि शुरु गरेको देशव्यापी मेची महाकाली जनजागरण अभियानको क्रममा सिराहाका विभिन्न १२ स्थानहरुमा कोण सभाहरु सम्पन्न भएका छन ।

मोर्चाको केन्द्रीय अध्यक्ष सीपी गजुरेल गौरवको प्रमुख आतिथ्यता र क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा प्रदेश नम्बर एक र दुईका इन्चार्ज हरीभक्त कडेंल प्रतिकको विशेष आतिथ्यतामा ति कोण सभाहरु भएका हुन ।

देजमोको सूदुरपूर्व झापाबाट अघि बढेको गजुरेल नेतृत्वको अभियान टिमले मोरङ, सुनसरी, सप्तरी हुँदै आइतबार सिराह पुगेको थियो ।

अभियान टोलीलाई सिराहाको लहान बजारमा आइतबार भव्य स्वागत गरिएको थियो । उक्त टोलीले जिल्लाको भगवानपुर गाउँपालिकाको ठाढी, भगवानपुर हुलाकी रोड चोक, नवराजपुर गाउँपालिकाको सोनवर्षा चोक, वरियारपट्टी गाउँपालिकाको कजरा चोक, वरियारपट्टीको खोक्सि जानकीनगर, वरियारपट्टी चोक, सुखीपुर नगरपालिका, धनगढीमाई नगरपालिका लगायतका स्थानहरुमा आइतबार कोणसभाहरु गरेको थियो ।

त्यस्तै उक्त अभियान टालीले आज (सोमबार) सिराहा सदरमुकाम, कल्याणपुर नगरपालिका, पुरानो चोहर्वा चोक र लहान नगरपालिकामा कोण सभा सम्पन्न भएको छ ।

कोणसभामा सम्बोधन गर्ने अधिकांश नेताहरुले संसदीय व्यावस्था दलालीकरणको संरक्षणमा देखिएको भन्दै त्यसको विकल्प खोज्नुपर्नेमा जोड दिएका थिए, भने कार्यक्रममा उपस्थित नागरिकहरुले जनगणतन्त्र स्थापना गर्न माग गरेका थिए ।

उनीहरुल सडक आन्दोलन वा सडक संघर्षको माध्यमबाट वर्तमान व्यवस्थाको खारेज गरी जनताको संघीय जनगणतन्त्र ल्याउन सकिने भन्दै जनतालाई संघर्षमा उत्रिन आह्वान गरेका थिए ।