मधेश समस्याको समाधान जनवादी क्रान्तिबाट मात्र सम्भव छः नेता कडेंल

दलाल, तस्कर विरुद्ध कारबाही गरिने चेतावनी

सिराहा । तराई मधेश र सबै शोषित पीडित वर्ग समुदायको समस्या नयाँ जनवादी क्रान्तिको प्रकृयाबाट मात्र सम्भव हुने नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समित सदस्य तथा पार्टीका प्रवक्ता हरीभक्त कडेल प्रतिकले बताएका छन ।

क्रान्तिकारी माओवादी निकटको देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालले देशव्यापी मेची महाकाली जनजागराण अभियानको क्रममा हिजो सिराहाको बरियारपट्टी चोकमा आयोजित कोणसभामालाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन ।

नेता कडेंले संसदीय व्यवस्था टिकाउनका लागि संसदीय व्यवस्थाका पक्षपातिहरुले जनतामा संवृद्धि र विकासको नारा लगाउँदै भ्रमको खेति गरेको भन्दै त्यसको चिरफार गर्नको लागि मोर्चा जनतासँग अभियानमा जोडिएको बताए ।

उनले सरकार जनअधिकाको चरम हनन गर्दै अघि बढेको बताए । जनताका समस्या बढ्दै गएको र राज्य जनघातको बाटोमा अग्रसर देखिएको भन्दै उनले त्यसका विरुद्ध जनताको सचेतन आन्दोलन आवश्यक पर्नेमा जोड दिए ।

जनताको आन्दोलन मार्फत जनतको व्यवस्था ल्याउनका लागि संघर्ष गर्नुपर्ने उनको भनाई थियो । उनले संघीय जनगणतन्त्रको स्थापनाका लागि जनतालाई संघर्षको तयारी गर्न समेत निर्देशन दिए ।

दलाल, तस्कर र भ्रष्टहरुलाई कारबाही गर्न नेता कार्यकर्ताहरुलाई आग्रह गर्दै उनले क्रान्तिकारी आन्दोलनलाई नयाँ चरणमा विकास गर्नुपर्ने धारणा राखेका थिए ।

उक्त कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य सीपी गजुरेल, पोलिटव्यूरो कृष्णदेवसिंह, कमल लगायत केन्द्रीय सदस्यहरु र अन्य मोर्चा र संगठनका नेताहरुको सहमागिता रहेको थियो ।