संघर्षको तयारीका लागि देशभर देजमोको अभियान: ठाउँ ठाउँमा कोणसभा

पूर्वको अभियान टोली सप्तरीमा, पश्चिमको बाँकेमा

सप्तरी । जनयुद्धको अवसानपछि निभ्न लागेको क्रान्तिकारी आशावादको दियो बाल्ने प्रयत्नमा नेकपा (क्रान्तिकारी माओवादी) निकटको देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालले देशव्यापी रुपमा अभियान सञ्चालन गरिरहेको खुल्न आएको छ ।

अधिकांश नेताहरुले समाजमा वर्गिय समस्याहरु बिकराल बन्दै गएको भन्दै संघर्षको तयारीका लागि जनताबिच जनजागरण फैलाउने उद्देश्यले देशव्यापी अभियान चलाउँदै अघि बढेको बताएका छन ।

देजमो नेपालले गत मंगलबार देशव्यापी रुपमा मुलुकका चार स्थानबाट मेची महाकाली जनजागरण अभियानको उद्घाटन गरेपछि विभिन्न जिल्लाहरुमा सम्बोधन गर्ने क्रममा नेताहरुले त्यस्तो बताएका हुन ।

पोखरा र काठमाडौंको अभियान टोलीले जिल्लाहरुमा संन्देश सभाको विभिन्न कार्यक्रमहरु गरिरहेको खबर प्राप्त भएको छ भने पश्चिम नेपालको कञ्चनपुरबाट शुरु भएको अभियानको टोली भने यतिबेला बर्दियामा पुगेको छ ।

उक्त टोलीले जिल्लाका विभिन्न स्थानहरुमा कोणसभा, छलफल तथा पत्रकार सम्मेलनसम्मको कार्यक्रमहरु गरिरहेको छ । त्यस्तै झापा, मोरङमा अभियान सकेर विहीबार साँझ सुनसरीको धरान पुगेको पूर्वको अभियान टोलीले हिजो धरानका स्थानीय व्यापारी, व्यवसायी, बुद्धिजीवि, स्थानीयहरुसँग छलफल गरेको छ ।

त्यस्तै दिउँस इटहरी बजारमा भव्य कोण सभाको कार्यक्रम समेत आयोजना गरको छ । उक्त कोणसभामा मोर्चाका केन्द्रीय अध्यक्ष गजुरेल, पार्टीका प्रवक्ता कडेंल, पार्टीका केन्द्रीय सदस्य गणेश लगायतले सम्बोधन गरेका थिए भने कार्यक्रमको सञ्चालन मनोजले गरेका थिए ।

त्यसपछि हिजो साँझ अभियान सप्तरीसँग सीमा जोडिएको भेन्टाबारीमा अभियान टोलीले अर्को कोणसभाको आयोजना गरेको छ, उक्त सभालाई पशुपति आचार्य र मोर्चा अध्यक्ष गजुरेलले सम्बोधन गरेका थिए ।

त्यसैगरी झापाबाट शुरु भएको उक्त अभियान टोली हिजोसाँझ नै प्रदेश नम्बर एकमा त्यहाँको कार्यक्रम सकेर प्रदेश नम्बर दुईको सप्तरीमा पुगेको छ ।

नेकपा (क्रान्तिकारी माओवादी) र त्यसको जुझारु संगठन देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालको प्रदेश नम्बर दुईका नेताहरुले अभियान टोलीलाई कोशी व्यारेजमा हिजो साँझ भव्य स्वागत गरेका थिए भने प्रदेश एकका नेताहरुले बिदाई गरेका थिए ।

प्रदेशका नेताहरुले टीका र दोसल्लाले अभियानमा हिडेको टिमलाई स्वागत गरेका थिए । अभियान टोलीले हिजो साँझ सप्तरीको राजविराज स्थित नेता चोकमा कोणसभा समेत गरेको छ ।

उक्त कोण सभालाई क्रान्तिकारी माओवादीका प्रवक्ता हरिभक्त कडेंल प्रतिक, पार्टी स्थायी समिति सदस्य तथा मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेल लगायतले सम्बोधन गरेका थिए ।

उक्त कार्यक्रममा क्रान्तिकारी माओवादीका पोलिटव्यूरो सदस्यहरु कृष्णदेवसिंह दनुवार, कमल चौधरी, पार्टीका केन्द्रीय सदस्यहरु र अन्य नेता, कार्यकर्ताहरुका सार्थै नगरवासीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

राजविराजको कोणसभापछि राईपुरमा नेता कार्यकर्ताहरुले अभियान टोलीलाई स्वागत गरेको थियो भने साँझ कल्याणपुरमा अभियान टोलीले कोणसभा गरेको थियो ।

उक्त टोली कदमाहाबाट आज बिहान अभियान चलाउँदै अघि बढ्ने बताइएको छ । भने टोली भोलि मात्र सप्तरीबाट विदाई हुने भएको छ ।