वर्तमान सरकार देश र जनताको हैन, दलालहरुको पक्षमा छः परी थापा

संघीय जनगणतन्त्र स्थापनार्थ सघर्षमा जोड

कैलाली । देशभक्त जनगणतान्त्री मोर्चा नेपालका केन्द्रीय सचिव परी थापाले वर्तमान केपी ओली नेतृत्वको सरकारले जनतालाई ठूला ठूला सपना देखाएर विश्वास घात गरेको बताएका छन ।

उनले वर्तमान सरकार जनघात, राष्ट्रघातको दिशामा अघि बढेको भन्दै त्यहाँबाट देश र जनताको पक्षमा कुनै अपेक्षा गर्न नसकिने तर्क समेत गरें ।

आज देशभक्त जनगणतान्त्री मोर्चाद्धारा कैलालीको धनगढस्थित ट्राफिक चोकमा आयोजना भएको कोण सभालाई सम्बोधन गर्ने क्रममा उनले त्यस्तो बताएका हुन ।

देजमो नेपालले गत सात गतेदेखि देशव्यापी रुपमा चलाएको मेचीमहाकाली राष्ट्रिय जनजागरण अभियानको थापाले पश्चिम टोलीको नेतृत्व गरिरहेका छन ।

ओली सरकारले भारतले बनाएको नक्कली नक्सा सरकारी कार्यालयमा राखेको भन्दै देशको दश हजार १९ वर्गकिलो मिटर क्षेत्रफल जमिन घटेको भएपनि सरकारले त्यसको उचित जवाफ अझै नदिएको उनले बताए ।

उनले ओली सरकारले मुलुकमा विकास, संवृद्धिको कुरा गरिरहेको भएपनि यथार्थमा भने जनताले उपचार नपाएर अकालमा मर्नुपनेको औल्याए ।

उनले भने–‘यो व्यवस्था दलालहरुको हो, यसबाट देश र जनताको पक्षमा कुनै काम हुने देखिन्न, तसर्थ जनताको संघीय जनगणतन्त्र स्थापना गर्नको लागि पुर्न संघर्षको उठान गर्नुपर्ने हुन्छ, त्यसका लागि हामी आह्वान गर्दछौं ।’

उक्त कोणसभामा बोल्दै थापाले मुलुकमा कम्युनिस्ट भनिने सरकार भएपनि गरिब जनताका छोराछोरीलाई शिक्षा स्वास्थ्य, रोजगारबाट बञ्चित बनाएको उनले बताए ।

उनले जनतालाई स्वास्थ्य सुबिधा दिन नसक्ने सरकारले विकास, समृद्धि र सम्पन्नताको ठूलो गफ गर्ने गरेको भन्दै जनतालाई भ्रममा नपर्न आग्रह समेत गरे ।

उनले भने–‘देशको सीमा मिचिदा एकशब्द बोल्दैन, यस्तो सरकार कसरी कम्युनिस्ट हुन सक्छ ? त्यसैले देश र जनताका निम्ति तपाई हामीले संघर्ष गर्नुको बिकल्प छैन ।’

उनले वर्तमान सरकारलाई विस्तारवाद र समान्तवादका मतियारको संज्ञा दिदैँ त्यसैले देश र जनताको पक्षमा कुनै काम गर्न नसक्ने ठोकुवा गरें । देखिएका तमाम समस्याहरु र त्यसको समाधानको विकल्पसहित पार्टीको मोर्चाले जनजागरण अभियान चलाएको बताए ।

उक्त कोणसभामा बोल्दै क्रान्तिकारी माओवादीका पोलिटव्यूरो सदस्य तथा प्रदेश नम्बर सातका सचिव चन्द्रहरी सुवेदी अटलले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका क्षेत्रमा तमाम खालका समस्याहरु देखिएको र त्यसको समाधान वर्तमान व्यवस्थाबाट सम्भव नभएको बताए ।

उनले वर्तमान व्यवस्थाको विकल्प खोज्ने बेला भएको भन्दै जनताको व्यवस्था ल्याउन संघर्ष गर्नुपर्नेमा जोड दिए । 

उक्त कार्यक्रमका देजमोका केन्द्रीय सदस्य बिस्णु दमाईले वर्तमान सरकार दलालहरुको संरक्षणमा लागेको बताए ।

उनले हजारौं योद्धाहरुको रगतमा होली खेलेर सत्ताँमा रजाई गरिएको भन्दै सत्ताँरुढ दलहरुप्रति तिब्र आक्रोश व्यक्त गरें ।

‘कालापानीदेखि लिपुलेकसम्म मिचिदा जनताले देशको सीमा बचाउन ज्यानको आहुँति दिदा समेत हाम्रो सरकार भारतलाई खुशी पार्न एक शब्द विरोध नगर्ने दलालहरु, देशका नदिनाला बेचेर खानेहरु, हजारौं योद्धाको रगतलाई बेचेर सत्ताँमा जानेहरु न त राष्ट्रवादी हुन, न त जनवादी नै हुन’–उनले भने ।

देजमोका प्रदेश संयोजक रामबहादुर केसी डायमण्डले उक्त कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रम सञ्चालन गर्दै उनले जनतालाई समस्या र त्यसको समाधानको पक्षमा जानकारी दिनका लागि अभियान शुरु गरिएकाले आम समुदायलाई संघर्षका कार्यक्रममा सहभागि हुन आग्रह गरे ।

कार्यक्रममा संगठनका नेता, कार्यकर्ताका साथै स्थानीयवासीहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा पार्टी निकट विभिन्न संघ संगठनका नेताहरुको समेत उपस्थिति रहेको थियो।