पाकिस्तानका प्रधानमन्त्री खानद्धारा भारतलाई चुनौतीः कश्मीर आक्रमणमा संलग्नताको प्रमाण माग

सैन्य कारबाही भए प्रतिकार गर्ने चेतावनी

भारत । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले टेलिभिजन सम्बोधनमार्फत् भारतलाई कश्मीर आक्रमणमा संलग्न भएको प्रमाण दिन चुनौती दिएका छन्।

पाकिस्तानी भूमिबाट सञ्चालित लडाकु सङ्गठन जैश ए मोहम्मदले सो घटना आफूले गराएको दाबी गरेको छ । सो घटनापछि भारत र पाकिस्तानबीच तनाव बढेको छ।

सन् १९४७ मा विभाजन भएदेखि नै दुई देशले कश्मीर आफू अधीनस्थ हुनुपर्ने दाबी गर्दै आएका छन्। आफ्नो सम्बोधनमा उनले कश्मीर आक्रमणबारे प्रतिक्रिया दिँदै भारतले पाकिस्तानलाई विनाप्रमाण दोष लगाउन छोड्नुपर्ने भन्दै भारतीय पक्षलाई पाकिस्तान संलग्न भएको प्रमाण आफूसँग भए देखाउन चुनौती दिएका छन्।

उनले भने, यदि तपाईँ पाकिस्तानमा कुनै किसिमको आक्रमण गर्नेबारे सोच्दै हुनुहुन्छ भने पाकिस्तानले प्रतिकार गर्नेबारे सोच्ने मात्र हैन, पाकिस्तानले प्रतिकार नै गर्नेछ।

तर उनले वार्ताबाट कश्मीरसँग सम्बन्धित विवादको समाधान गर्न सकिन विश्वास व्यक्त गरे। दिल्लीले भारत प्रशासित कश्मीरमा पृथक्तावादी लडाकुहरूलाई पाकिस्तानले सघाउने गरेको आरोप लगाउने गरेको छ।

आफ्नो सरकार कश्मीर घटनाको अनुसन्धानमा सहकार्य गर्न तयार रहेको भन्दै गत वर्ष प्रधानमन्त्री बनेका खानले पाकिस्तानले आफैँ स्थायित्वतिर उन्मुख भएका बेला त्यस्तो आक्रमणबाट के पाउँछ र भनेर प्रश्न गरेका थिए।

साउदी युवराज मोहम्मद बिन सलमानको भ्रमणका कारण आफूले पहिला सम्बोधन गर्न नपाएको उनले बताए। कश्मीरमा आत्मघाती आक्रमण गर्ने व्यक्ति स्थानीय युवक भएको बताइएको छ।

केही वर्षयता धेरै कश्मीरी युवाहरू लडाकु सङ्गठनमा प्रवेश गरेका छन्। सोमवार भएको भिडन्तमा भारतीय सुरक्षाकर्मीले तीन सन्दिग्ध लडाकुलाई मारिदिएका थिए। सो घटनामा चार सैनिक, एक प्रहरी र एक गैरसैनिकको पनि मृत्यु भएको थियो।

भारतीय पक्षले भिडन्तमा मारिएका एक लडाकु पुलवामामा बिहीवार भएको आक्रमणका प्रमुख योजनाकार भएको दाबी गरेको छ। कश्मीरको केही भूभाग पाकिस्तान र केही भारतको अधीनमा छ।

बिहीवारको घटना सो क्षेत्रमा भारतीय फौजलाई लक्षित सबैभन्दा ठूलो आक्रमण हो। अहिलेसम्म भारतले आर्थिक र कूटनीतिक माध्यमबाट पाकिस्तानलाई आक्रमण गरेको छ।

भारतले पाकिस्तानको व्यापारिक हैसियत रद्द गर्दै पाकिस्तानसँगको भन्सार दरमा दुई सय प्रतिशतले वृद्धि गरिदिएको छ। दुवै देशले आफ्ना राजदूतहरूलाई फिर्ता बोलाएका छन्।

बिहीवारको घटनापछि भारतमा पाकिस्तानविरोधी प्रदर्शनहरू भएका छन्। क्रुद्ध भिडले कश्मीरी विद्यार्थी र व्यापारीहरूलाई निसाना बनाएको भन्दै विवरणहरू प्रकाशित भएका छन्। बीबीसीबाट