गुरुङको नेतृत्वमा प्रदेश पाँचका ३५ जना नेताहरु निस्किएँ राष्ट्रिय जनजागरण अभियानमा

तराईमा भव्य, पहाडी जिल्लामा संन्देशमूलक कार्यक्रम गरिने

रुपन्देही । नेकपा (क्रान्तिकारी माओवादी) निकटको देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालले आजबाट शुरुवात गरेको पन्द्र दिने मेची महाकाली राष्ट्रिय जनजागरण अभियानको समापन अवधी सम्मका लागि प्रदेश नम्बर पाँचबाट ३५ जना नेताहरुको टिम निस्किएको छ ।

प्रदेश पाँचका १२ वटै जिल्लाहरुबाट पार्टी इन्चार्ज, सल्लाहकार, मोर्चा तथा संगठनका अगुवा समेत गरी ३५ जना भन्दा बढि नेताहरु उक्त अभियानको समापनसम्मका लागि सुदुरपश्चिम प्रदेशबाट पूर्वतर्फ बढ्ने अभियान टोलिमा मिसिएका छन ।

क्रान्तिकारी माओवादीका पोलिटव्यूरो सदस्य तथा प्रदेश नम्बर पाँचका सेक्रेटरी प्रेम सुवेदीले त्यस्तो जानकारी दिएका हुन । उनका अनुसार त्यहाँबाट पार्टी पोलिटव्यूरो सदस्य तथा देजमो नेपालका पाँच नम्बर प्रदेश संयोजक केबि गुरुङको नेतृत्वमा सबै जिल्लाका नेताहरु सहितको टिम अभियानको लागि निस्केको छ ।

प्रदेश पाँचका अधिकाशं जिल्लाका पार्टी सेक्रेटरको नेतृत्वमा पार्टी कमिटी जिल्लागत अभियानको व्यवस्थापनको तयारीमा खटिएको छ । प्रदेशका सबै जिल्लाहरुबाट प्रतिनीधित्व हुनेगरी इन्चार्ज सहितको टिम अभियानमा हिडेको बताइएको छ ।

पहरपल नेपालसँग कुराकानी गर्दै सुवेदीले पाँच नम्बर प्रदेश अधिकाशं जिल्लाहरुमा जनजागरण अभियान चल्ने जनाए । उनले तराईका सबै जिल्लाहरुमा अभियान भव्य रुपमा चल्ने र केही पहाडी जिल्लाहरुमा भने संन्देश प्रवाहका हुने ढंगका कार्यक्रमहरु मात्र सञ्चालन हुने बताए ।

नेता सुवेदीका अनुसार सुदुरपश्चिमको कञ्चनपुरबाट अघि बढ्ने अभियान टोली फागुन १० गतेसम्म पाँच नम्बर प्रदेशमा पुग्ने बताए । प्रदेश नम्बर पाँचका बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, परासी, नवलपुर लगाएतका जिल्लाहरुमा देजमोको जनजागरण अभियान भव्य रुपमा चलाउने तयारी रहेको उनले बताए ।

त्यस्तै अर्घाखाँची, प्यूठान, रुकुम, रोल्पा लगायतका पहाडी जिल्लाहरुमा भने उक्त अभियानको मुख्य संन्देश प्रवाह गर्ने खालका केही कार्यक्रमहरु मात्र गरिने उनले बताए ।

उनका अनुसार सुदुरपश्चिमबाट अघि बढ्ने उक्त अभियान टोलीले प्रदेश नम्बर पाँचको बर्दिया र बाँकेमा यहि १०, ११ र १२ गते जिल्ला व्यापी अभियान चलाउँने योजना बनाएको छ ।

त्यस्तै १३ गते प्रदेश नम्बर सातको सुर्खेतमा अभियान टोली पुग्ने बुझिएको छ, सात नम्बर प्रदेशका अन्य जिल्लाहरुमा भने संन्देश प्रवाहमूलक ढंगका कार्यक्रमहरु मात्र गरिने भएको छ।

त्यस्तै दाङ लगायतका अन्य जिल्लामा १५, १६ गतेसम्म विविध कार्यक्रम गरेर अभियान चल्ने बताइएको छ । भने कपिलवस्तु, रुपन्देहीमा १७, १८ गतेसम्म अभियान चल्ने भएको छ ।

त्यसैगरी परासी र नवलपुरमा १९ र २० गते भव्य रुपमा अभियान चल्ने बताइएको छ । उक्त अभियान टोली प्रदेश ६, ७ र ५ मा विभिन्न कार्यक्रमहरु चलाउँदै फागुन २१ गते अभियान समापन सभाका लागि चितवन पुग्ने जनाइएको छ ।

चारै स्थानको अभियान टोली फागुन २१ गते चितवनको भरतपुरमा समापन सभाको लागि पुग्ने बताइएको छ । उक्त कार्यक्रम पश्चिात देजमो नेपालले काठमाडौंमा २४ गते भव्य रुपमा राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको छ । फाईल तस्बिर