यसरी शुरु हुँदैछ ७ गतेदेखि देशभक्त जनगणतान्त्रीक मोर्चाको मेची–महाकाली जनजागरण अभियान

सबै नेता, कार्यकर्ताहरु फिल्डमा: तिब्र तयारी

काठमाडौं । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको अवस्थाका साथै संसदीय व्यवस्थाले जनतामा पारेको प्रभाव लगायतका तमाम समस्या र त्यसको समाधानको दिर्घकालिन विकल्पको विषयमा नेकपा (क्रान्तिकारी माओवादी) निकटको देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालले देश व्यपापी रुपमा जनजागरण अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

प्राप्त जानकारी अनुसार मोर्चाको आयोजनामा यहि फागुन सात गते देशका चार प्रमुख स्थानहरुबाट उक्त अभियानको उद्घाटन गरिने भएको छ । जनतामा विभिन्न खालका भ्रमहरु राज्य सञ्चालकहरुले छरेर सत्ताँको व्यापार गरेको ठहर गर्दै मोर्चाले त्यस्ता तमाम विषयहरुमा जनतालाई जागरुक गराउने उद्देश्यले देशव्यापी रुपमा उक्त अभियान चलाउन लागेको हो ।

मोर्चाले पूर्वि नेपालको झापा र पश्चिमको कञ्चनपुरदेखि राजधानी काठमाडौं र पोखरालाई केन्द्रमा राखेर मेची महाकाली जनजागरण अभियान सञ्चालन गर्न लागेको छ । अभियानको तयारीका विषयमा चार क्षेत्रमा खटिएका क्रान्तिकारी माओवादीका नेताहरुले हरपल नेपाललाई जानकारी गराएका छन ।

मुलुकको चारै स्थानबाट शुरु गरिने उक्त अभियान प्रत्यक जिल्ला र स्थानीय तहसम्म आम नागरिकमा संन्देश पुग्ने गरी केन्द्रीत तथा विकेन्द्रीत ढंगका विभिन्न कार्यक्रमहश्र गर्दै फागुन २१ गते चितवनको भरतपुरमा पुगेर भव्य सभा गर्दै समापन गर्ने योजना मोर्चाले बनाएको छ ।

मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले वर्तमान व्यवस्था जनघाति, राष्ट्रघाति बाटोमा बढेको र त्यसबाट देश र जनताको पक्षमा कुनै काम नहुने ठोकुवा गर्दै जनताको अधिनायकत्वसहितको व्यवस्थाका लागि संघर्षको प्रकृयामा जनतामाझ छलफल लिएर देशव्यापी अभियानको रुपमा आफुहरु निस्कन लागेको बताएका छन ।

उनले मुलुकमा नक्कली कम्युनिस्टहरुको सरकार रहेको र त्यसले जनतामा भ्रमहरु हालेको भन्दै अभियानबाट मुलुकको यथार्थ अवस्था र राज्यको जनघाती नीति तथा बढ्दो अपराध, भ्रष्टचार, दलाली, तस्करी, महंगी, हत्या, बलात्कार, मुलुकको राष्ट्रियतामाथिको खुल्ला हस्तक्षेप, सीमा अतिक्रमण लगायतका तमाम विषयमा जानकारी गराउने विश्वास व्यक्त गरेका छन ।

फाईल तस्बिर

हरपल नेपालसँगको भेटघाटको क्रममा अध्यक्ष गजुरेलले वर्तमान सरकार र व्यवस्था दलाल, भ्रष्ट, अपराधीहरुको संरक्षणमा लागेको र वैदेशिक शक्ति केन्द्रहरुको एजेन्टको रुपमा काम गरिरहेको आरोप लगाउँदै त्यसको विकल्प खोज्नुपर्नेमा जोड दिएका छन ।

उनले वर्तमान व्यवस्थाको विकल्प संघीय जनगणतन्त्र भएको भन्दै त्यसका लागि जनतालाई आ आफ्नो ठाउँबाट संघर्षको प्रकृयामा सहभागि हुनका लागि अभियान मार्फत राम्रो तयारी पुरा गर्ने योजनासहित अघि बढेको बताएका छन ।

अभियान शुरु हुने चार स्थानको तयारी यस्तो छ

देजमोको मेची-महाकाली जनजागरण अभियान सात गते चारै स्थानबाट उद्घाटन हुने भएको छ । त्यस अन्तर्गत पूर्व झापाको काकडभिट्टामा सातगते दिउँस मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले अभियानको उद्घाटन गर्ने कार्यक्रम ठोस भएको छ ।

अभियानको उद्घाटन कार्यक्रममा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य हरीभक्त कडेंल प्रतिक, पोलिट व्यूरो सदस्य तथा एक नम्बर प्रदेशका सेक्रेटरी नगेन्द्र राई लालबहादुर, पोलिटव्यूरो तथा प्रदेश दुईका सेक्रेटरी कृष्णदेवसिंह दनुवार, पार्टी पोलिटव्यूरो तथा दुई नम्बर प्रदेशको मोर्चाका संयोजक कमल चौधरी, लगायतका नेताहरुको विशेष सहभागिता हुने बताइएको छ ।

उद्घाटन कार्यक्रममा विभिन्न जिल्लाका इन्चार्ज, सेक्रेटरी, मोर्चा र अन्य संगठनका नेता, कार्यकर्ताहरु र स्थानीय जनसमुदायको समेत उपस्थिति रहने बताइएको छ । त्यहाँ नेता कार्यकर्ताहरु र स्थानीयवासीसहित हजारौंको बिचमा भव्य ढंगले कार्यक्रमको उद्घाटन गर्ने मोर्चाको तयारी रहेको छ ।

अभियानको पूर्वि टोलीले उद्घाटनपछि दमक र बिर्तामोडमा समेत सभाको आयोजना गर्ने र त्यसको सम्बोधन समेत मोर्चाका अध्यक्ष गजुरेलले कार्यक्रम तय गरेको छ ।

त्यसैगरी अभियानको पूवि टोलीले आठ गतें सीमावर्ति क्षेत्रका मोर्चाको झण्डा, पर्चासहित अनुगमन गर्ने र स्थानीयवासीको गुनासो सुन्ने खालको कार्यक्रम तय गरेको छ । त्यस्तै राष्ट्रियता, जनतन्त्र र जनजीविकाको अवस्था तथा अग्रगामी विकल्पको तयारी विषयमा अन्तरक्रिया, वहस, छलफल र पत्रकार सम्मेलन लागयतका कार्यक्रमहरु समेत गर्ने भएको छ ।

त्यसैगरी अभियानको पश्चिम टोेलीको नेतृत्व देजमोका केन्द्रीय सचिव परी थापाले गर्ने भएका छन । पश्चिम टोलीले सुदुरपश्चिमको कञ्चनपुर स्थित गड्डाचौकीमबाट सात गते अभियानको उद्घाटन गर्ने तयारी गरेको जानकारी प्राप्त भएको छ ।

अभियानको उद्घाटन कार्यक्रममा क्रान्तिकारी माओवादीका स्थायी समिति रामसिंह श्रीस, पार्टीका पोलिटव्यूरो सदस्य तथा ६ नम्बर प्रदेश सेक्रेटरी अटल, पोलिटव्यूरो तथा ५ नम्बर प्रदेश सेक्रेटरी प्रेम सुवेदी, पोलिटव्युरो तथा दजमो ५ नम्बर प्रदेश संयोजक केबी रुगुङ, लगायतको विशेष उपस्थिति हुने भएको छ ।

उक्त कार्यक्रममा पार्टीका जिल्ला इन्चार्ज, सेक्रेटरी, मोर्चा र अन्य संगठनका नेताहरु, पार्टीका आम नेता, कार्यकर्ता लगायत स्थानीयवासी लागायतको सहभागिता जुटाउने तयारीमा पश्चिम अभियान टोली लागेको खबर प्राप्त भएको छ ।

पश्चिम अभियान टोलीले कञ्चनपुरमा दुई दिन, कैलालीमा तीन दिन कोण सभासहित जनतासँग छलफल तथा जनजागरणमूखि कार्यक्रम चलाउने भएको छ ।

त्यसैगरी पश्चिमका अन्य जिल्लाहरुमा जिल्लाको सापेक्षतामा कार्यक्रम चलाउँदै त्यो टोली प्रदेश नम्बर पाँचको बर्दिया, बाँके, दाङ, कपिलवस्तु लगायतका जिल्लाहरुमा क्रमश जनजागरणमूखि विविध कार्यक्रमहरु चलाउँदै २१ गते चितवन पुग्ने भएको छ ।

त्यस्तै अभियानको पश्चिम टोलीमा प्रदेश नम्बर पाँचबाट प्रत्यक जिल्लाको प्रतिनीधित्व गर्दै प्रदेश सेक्रेटरी सेवेदीको नेतृत्वमा ३५ सदस्यीय टोली अभियान अवधिभर परिचालनको लागि हिड्ने भएको जानकारी समेत प्राप्त भएको छ ।

त्यसैगरी मध्यपश्चिम क्षेत्र अन्तर्गत प्रदेश नम्बर चारको पोखरामा समेत सात गते जनजागरण अभियानको उद्घाटन हुने भएको छ । पोखराको अमरसिंह चोकमा उक्त अभियानको उद्घाटन हुने जानकारी प्राप्त भएको छ ।

पोखराको कार्यक्रमको उद्घाटन क्रान्तिकारी माओवादीका पोलिटव्यूरो सदस्य तथा देजमो नेपालका ६ नम्बर प्रदेश संयोजक केशबहादुरले गर्ने भएका छन ।

उक्त कार्यक्रममा पार्टीका जिम्मेवार नेताहरु, जिल्ला इन्चार्ज, सेक्रेटरी लगायत सबै जिल्लाका नेता, कार्यकर्ता र आम जनसमुदाय गरी हजारौंको उपस्थिति गराउने मोर्चाले तयारी गरको छ । त्यहाँ उद्घाटन तथा विशाल जनसभाको आयोजना गर्ने तयारी भएको हरपल नेपाललाई जानकारी आएको छ ।

उक्त अभियान टोलीले प्रदेशभरका सबै जिल्लाहरु र मुख्य केन्द्रमा विभिन्न जागरणमूखि कार्यक्रमहरु सञ्चालन गर्दै २१ गते चितवन पुग्ने गरी योजना तय गरेको संयोजक केशबहादुरले बताएका छन ।

त्यसैगरी राजधानी काठमाडौंमा क्रान्तिकारी माओवादीका महासचिव मोहनबैद्य किरणले मेचीमहाकाली जनजागरण अभियानको उद्घाटन गर्ने भएका छन । महासचिव बैद्यले उक्त अभियानको उद्घाटन काठमाडौंको शान्तिवाटिकाबाट गर्ने कार्यक्रम तय भएको पार्टीका पोलिटव्युरो सदस्य तथा तीन नम्बर प्रदेश सेक्रेटरी दिनेश शर्मा सागरले बताएका छन ।

सेक्रेटरी सागरका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे पार्टीको तयारीमा राजधानीमा नेता, कार्यकर्ता र जनसमुदायलाई केन्द्रीत गर्दै हजारौंको उपस्थितिमा भव्य रुपले उक्त अभियानको उद्घाटन गरिने भएको छ ।

उक्त उद्घाटन कार्यक्रममा पार्टीका पोलिटव्यूरो सदस्य तथा प्रदेश सेक्रेटरी सागर, पोलिटव्यूरो पवनमान श्रेष्ठ लगायतको विशेष उपस्थिति रहने भएको छ । कार्यक्रममा विभिन्न जिल्लाका इन्चार्ज, सेक्रेटरी, मोर्चा तथा संघ, संगठनका नेता, कार्यकर्ताहरु र स्थानीयवासीको सहभागिता हुने बताइएको छ ।

त्यसैगरी पन्द्र दिनसम्म चल्ने उक्त अभियान अन्तर्गत अन्य विभिन्न जिल्ला तथा स्थानीय तहहरुमा भने विविध कार्यक्रमसहित संन्देश सभा गरिने बताइएको छ । जिल्ला जिल्लामा संन्देश सभा गर्दै राजधानीको अभियान टोली समेत २१ गते चितवन पुग्ने भएको छ ।

यसरी जनजागरण अभियानलाई क्रान्तिकारी माओवादी निकटको देजमो नेपालले देशव्यापी रुपमा सञ्चालन गर्दै त्यसको समापन लगत्तै राजधानीमा २४ गते राष्ट्रिय सम्मेलनको तयारी गरेको छ । सम्मेलन पश्चिात मोर्चाले राजधानीमा वर्तमान व्यवस्थाका विरुद्ध सडकमा शक्ति प्रदर्शन गर्ने तयारी समेत गरेको खुल्न आएको छ ।

अभियानको तयारी तिब्रः सबै नेता, कार्यकर्ताहरु फिल्डमा

यतिबेला क्रान्तिकारी माओवादीका सबै स्थायी समिति सदस्यदेखि पोलिटव्यूरो सदस्यहरु र केन्द्रीय सदस्य तथा नेता, कार्यकर्ताहरु अभियान र अन्य आन्तरिक योजनाको तयारीमा फिल्डमा पुगेका देखिन्छन ।

त्यसको लागि मोर्चाका अध्यक्ष तथा पार्टीका स्थायी समिति सदस्य गजुरेल झापातर्फ प्रस्थान गरिसकेका छन, भने अर्का स्थायी समित सदस्य कडेंल यसअघि देखिनै त्यहाँ तयारीमा जुटिरहेका छन ।

त्यस्तै मोर्चाका सचिव तथा पार्टी स्थायी समिति सदस्य परी थापा अभियानको नेतृत्व गर्न सुदुरपश्चिम पुगिसकेका छन भने अर्का स्थायी समिति सदस्य श्रीस पनि कार्यक्रमको लागि प्रदेश नम्बर ६ तर्फ प्रास्थान गर्दै छन ।

त्यसैगरी पार्टी महासचिव अन्य कामको लागि केही दिनदेखि बाहिर रहेकोमा काठमाडौंको अभियानको लागि राजधानीमै बस्ने भएका छन । अन्य पोलिटव्यूरो तथा केन्द्रीय सदस्यहरु पनि आ आफ्नो जिम्मेवारी अनुसार तयारीमा खटेको देखिन्छ ।

अभियानको तयारीका लागि पार्टी सम्बद्ध विभिन्न संघ, संगठनहरुले समेत चारै स्थानमा नेताहरुलाई खटाएको छ । युवा, विद्यार्थी, महिला, पत्रकार, कलाकार, मजदुर लगायतका संघ संगठनका नेताहरु समेत यतिबेला फिल्डमा खटिएको जानकारी प्राप्त भएको छ ।