अखिल क्रान्तिकारीले यसरी मनायो २४ औं जनयुद्ध दिवसः भिडियोसहित हेर्नुहोस्

निशुल्क तथा जीवन उपयोगी शिक्षाका लागि संघर्षमा जोड

काठमाडौं । मालेमावादलाई आफ्नो मार्गदर्शक सिद्धान्तको रुपमा ग्रहण गर्दै तत्कालिन नेकपा (माओवादी) ले सञ्चालन गरेको दश बर्षे जनयुद्धलाई स्विकार गर्ने विभिन्न राजनीतिक दल र त्यसका भातृ संगठनहरुले बुधबार विविध कार्यक्रम गरी जनयुद्ध दिवस मनाएका छन ।

तत्कालिन नेकपा (माओवादी) ले जनताको व्यवस्थाका लागि हतियारसहित जनयुद्धको थालनि गरेको दिनको स्मरणमा उनीहरुले निरन्तर देश र जनताको मुक्ति आन्दोलनमा लाग्ने प्रतिबद्धता गर्दै, विगतबाट पाठ सिकेर अघि बढ्ने अठोट सहित जनयुद्ध दिवस मनाएका छन ।

जनयुद्ध दिवसमा राजनीतिक दलहरु र त्यसका संघ संगठनहरुले छुट्टा छुट्टै कार्यक्रमहरुको आयोजना गरेर मनाए । माओवादी आन्दोलनमा जोडिएका देशभरक युवा, तथा नेता, कार्यकर्ताहरुले बुधबार दिनभर विरोध, जुलुस, रातो मार्चपास, वहस अन्तरक्रिया, भेला सम्मेलनका साथै दिपावली गरेर २४ औं जनयुद्ध दिवस मनाएका छन ।

नेकपा (क्रान्तिकारी माओवादी) निकटको अखिल क्रान्तिकारीको केन्द्रीय आयोजनामा राजधानीको शान्तिवाटीकामा जनयुद्ध जिन्दावाद भन्दै दिपावली गरीएको छ । विद्यार्थी तथा युवाहरुले क्रान्ति अझै जारी रहेको भन्दै दलाल, तस्करहरुका विरुद्ध कारबाही गर्ने चेतावनी सहित जनयुद्धका शहीद, घाइते, अपाङ्ग, वेपत्ता तथा योद्धाहरुको स्मरण तथा सम्मान गर्दै उक्त कार्यक्रम मार्फत क्रान्तिको निरन्तरता जनाएका हुन ।

दिप प्रज्वलनको कार्यक्रम लगत्तै अखिल क्रान्तिकारीम महासचिव पेसल दाहालले कोणसभा कार्यक्रमको सञ्चालन गरेका थिए । महासचिव दाहालले कार्यक्रम सञ्चालनका क्रममा राज्यले शैक्षिक दलालहरुको संरक्षण गरेको कारण मुलुकमा अझै ठूलो संख्याका बालबालिकाहरु शिक्षाको पहुँचमा नपुगेको बताए । उनले शिक्षा क्षेत्रको आमुल परिवर्तनका लागि संघर्ष मात्र विकल्प हुनेमा जोड दिएका थिए ।

कोणसभालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीको केन्द्रीय उपाध्यक्ष शिलु न्यौपानेले त्यतिबेला माओवादीले राज्यको आमुल परिवर्तनका लागि सञ्चालन गरेको जनयुद्धलाई केही गद्धार नेताहरुले आधा बाटोमै समापन गरेको कारण आज समाजमा अनेकन समस्याहरु देखिएको बताएकी थिइन ।

उपाध्यक्ष न्यौपानेले निर्मला पन्तको हत्यारादेखि भ्रष्ट माफीया र तस्करहरुको संरक्षणमा राज्यसँग जोडिएकाहरु लागेका कारण सामाजिक अपराधका घटनाहरु बढ्दै गएको बताइन । उनले राज्य व्यवस्था परिर्वन नभएसम्म नागरिकको कुनै पनि अधिकारको सुनिश्चितता नहुने बताइन ।

तत्कालिन अवस्थामा ठूलो सपना देखेर युद्ध मोर्चामा होमिएका विर शहीदहरुको बलिदानीका कारण सत्ताँमा पुगेकाहरुले आज आफु आएको बाटो नै बदलेको उनले आरोप लगाइन । उनले निशुल्क र सर्वशुलभ शिक्षाको विषयमा राज्यलाई ब्युझाउनका लागि सडक संघर्षमा उत्रिन जरुररी रहेको भन्दै विद्यार्थीहरुलाई त्यसका लागि आग्रह समेत गरिन ।

अखिल क्रान्तिकारीका अध्यक्ष हरीकृष्ण गजुरेलले २०५२ सालमा शुरु भएको जनयुद्धको रापतापमा २०६२, ०६३ मा १९ दिने जनआन्दोलन भएको र त्यसले जनताको नारा बोक्न सबै दलहरुलाई बाध्य पारेको उल्लेख गरें । जनयुद्ध भएको जनआन्दोलनको बर्षौ बितिसक्दा पनि जनताका समस्याहरु उस्तै भएकाले राज्य व्यवस्थामा खासै परिवर्तन आउन नसकेको उनको भनाई थियो ।

जनयुद्धको उद्घोष गर्दै गर्दै गर्दा आफ्नो पार्टीले समाजमा देखिएका सबै समस्याहरुको समाधान गरेर जनताको व्यवस्था ल्याउने बताएको भन्दै उनले भने–‘यो मुलुकमा रहेका तमाम विकृति, विसंगति, असमानताको अत्य नभएसम्म, दलाल तस्कर, भ्रष्टहरुको अत्य नभएसम्म, मजदुर किसानको राज्य व्यवस्था स्थापना नभएसम्म हाम्रो पार्टीले उठाएको हतियार बिसाउने छैनौं, हामी क्रान्तिकै प्रकृयामा छौं ।’

शरीरमा एक थोपा रगत र एक मुठ्ठि सास मात्र रहेसम्म पनि लडाइ जारी राख्ने कसम खाएर जनयुद्धमा होमिएका क्रान्तिकारी योद्धाहरुमाथि प्रचण्ड बाबुरामहरुले धोका दिएको उनले बताए । तिनीहरुले घाइते, अपाङ्ग योद्धाहरु, शहीद र बेपत्ता परिवारहरुप्रति गद्दारी गरेर क्रान्तिबाट भागेको उनले बताए।

वर्तमान व्यवस्थाले जनताको समस्या कम गर्ने भन्दा पनि मुलुकको राष्ट्रियतामै गम्भीर संकट निम्त्याइरहेको हुनाले त्यसको विकल्पमा जनताहरु, आम सचेत नागरिकहरु विद्रोहमा उत्रिनुपर्नेमा उनले जोड दिए ।

राज्यलाई चेतावनी दिदैँ उनले भने–‘खबदार दलाल व्यवस्थाका मालिकहरु, यदि तिमीहरुले सधैँ लुटको संसार चलाउने सपना देखेका छौ भने, यदि तिमीहरुले आफ्नो महलको सपना अझै देखिरहेका छौं भने अब त्यसका विरुद्धम जनयुद्धका आइते, अपाङग र योद्धाहरु अनि आम नागरिकहरु सडकमा उत्रिन बाध्य हुनेछन । त्यसले तिमीहरुको चैन हराम गर्ने निश्चित छ ।’

जनयुद्धमा शहादत प्राप्त गरेका र बेपत्ता पारिएका विद्यार्थी नेताहरुको स्मरण गर्दै उनले भने–‘हाम्रो पार्टी र संगठन शहीदहरुको बलिदानीलाई खेर जान दिने छैन, हाम्रो संगठन सर्वहारा वर्गिय जनताका छोरोछोरीलाई निशुल्क जीवनउपयोगी शिक्षा प्रदान गर्नका लागि कडा संघर्षमा होमिन्छ, अब अखिल क्रान्तिकारी सडक बाघ भएर निस्कन्छ, त्यसले धेरैको मुटु हल्लने निश्चित छ ।’

विद्यार्थी संगठनको नाममा राजनीति गर्ने र शैक्षिक माफीया, दलाल, तस्करहरुको संरक्षणमा लागेका संगठन र त्यसका नेताहरुको समेत आफ्नो संगठनले हिसाब राखेको जनाउँदै उनले आउँदा दिनहरुमा शैक्षिक आन्दोलनले ति सबैलाई पखालेर लिने उनले विश्वास व्यक्त गरे ।

‘हरेक विद्यार्थीले आफुले चाहे अनुसारको शिक्षा निशुल्क पाउँनु पर्छ, त्यो उसको नैसर्गिक अधिकार पनि हो’–उनले भने,‘शिक्षा, स्वास्थ्य जस्ता विषयमा राज्यले जिम्मेवारी लिनुपर्छ, त्यसका गम्भीर हुनै पर्छ, त्यसो नभएको खण्डमा आम विद्यार्थीहरु संसदीय व्यवस्थको विकल्प सडकबाट खोज्न तयार हुनेछन र त्यसको नेतृत्व हाम्रो संगठनले गर्छ ।’

उनले मुलुकको राष्ट्रियता, जनतन्त्र र जनजीविका अत्यन्त गम्भीर संकटमा परेको भन्दै त्यसकालाई जोगाउँनका लागि सडक आन्दोलनका सबै कार्यक्रममा सहभागि हुनका लागि समेत विद्यार्थी युवा तथा प्रगतिशिल समुदायमा अपिल गरे ।

उक्त कार्यक्रममा अखिल क्रान्तिकरीका केन्द्रीय पदाधिकारीहरु, केन्द्रीय सदस्य, प्रदेश र जिल्ला स्तरका नेता, कार्यकर्तका सार्थै सर्व साधारण नागरिकहरुको समेत सहभागिता रहेको थियो ।

रत्न पार्कको पारीपट्टी रहेको शान्तिवाटीका अगाडीको सडक छेउमा कातो र सेतो रंगले ‘महान जनयुद्ध जिन्दावाद ! विर शहीदहरु लाल सलाम ! अखिल क्रान्तिकारी जिन्दावाद ! क्रान्तिकारी माओवादी जिन्दावाद !’ भन्ने जस्ता विभिन्न नाराहरु लेख्दै त्यसमा दजनौं मैनवत्ति बालेर अखिल क्रान्तिकारीले जनयुद्ध दिवसको अवसरमा दिपाली गरेको थियो ।

उक्त दिपावलीको कार्यक्रममा सयौं मानिसहरुको उपस्थििति रहेको थियो । कार्यक्रममा सहभागि अधिकांशको जोड व्यवस्था परिवर्तनका लागि संघर्षमा होमिनुपर्नेमा रहेको देखिन्थ्यो ।