राज्यले जनयुद्धका सहिदहरुको घोर अपमान गरेको योद्धा परिवारको ठहर

राज्यसँग सहिद घोषणा गर्न माग

काठमाडौं । सहिद तथा बेपत्ता योद्धा परिवार समाज नेपालले वर्तमान राज्यले जनयुद्धका महान सहिदहरुको घोर अपमान गरेको बताएको छ ।

योद्धा परिवारले जनयुद्धका क्रममा मारिएका सेना, प्रहरीहरुलाई सहिद घोषणा गर्ने रवैयाप्रति आपत्ति प्रकट गर्दै परिवर्तनका बाहक महान सहिदरुलाई राज्यको तर्फबाट तत्काल ‘सहिद’ घोषणा गर्न जोडदार माग गरेको छ ।

नेकपा (क्रान्तिकारी माओवादी) निकटको रहेको उक्त संगठनका संयोजक दिनेश शर्माले गत २१ गते एक वक्तव्य निकाल्दै त्यस्तो बताएका हुन ।

जारी वकतव्यमा जनयुद्धका क्रममा राज्यले बेपत्ता बनाएका योद्धाहरुको छानबिन गरी सत्य, तथ्य बाहिर ल्याउन गठित आयोगको काममा ढिला सुस्ती हुनुमा स्वयम् सरकार जिम्मेवार रहेको ठहर गरिएको छ ।

वक्तव्यमा सरकारको उक्त रवैयाको घोर विरोध गर्दै तदारुकताका साथ काम अगाडि बढाएर सत्य, तथ्य बाहिर ल्याउन जोडदार माग गरिएको छ ।

समाजको १८ माघमा सम्पन्न बैठकले पार्टीको सम्बन्धित तहसँग समन्वय गरी सहिद पार्क निर्माण, बाटिका निर्माण, शालिक निर्माण तथा सहिद बेपत्ता योद्धाहरुको जीवनी प्रकाशन गर्न समेत पहल गर्ने निर्णय गरिएको छ ।

समाजले आगामी बैशाखसम्ममा संगठनको राष्ट्रिय भेलाको तयारी गर्ने गरेको बुझिएको छ । उक्त संगठनले विभिन्न खालका कार्यक्रमहरु समेत गर्दै आको छ ।