क्रान्तिकारी माओवादीको उदयपुर सम्मेलनः भ्रष्ट दलालहरुलाई कारबाही गर्न निर्देशन

जनयुद्ध दिवस भव्य रुपमा मनाइदै

फाईल तस्बिर

उदयपुर । नेकपा (क्रान्तिकारी माओवादी) को संगठन विस्तार तथा सुढृणीकरण अभियानका क्रममा विभिन्न जिल्लाहरुमा सम्मेलन भेला, छलफल लगायतका कार्यक्रमहरु सञ्चालन भैरहेका छन ।

आज क्रान्तिकारी माओवादी उदयपुरको जिल्ला सम्मेलन शुरु भएको छ । गाईघाट स्थित जिल्ला विकास समितिको सभाहलमा सम्मेलन शुरु भएको हरपल नेपाललाई खबर प्राप्त भएको छ ।

क्रान्तिकारी माओवादी उदयपुरको जिल्ला सेक्रेटरी रीताको सभापतित्वमा शुरु भएको सम्मेलनमा प्रमुख अतिथिको रुपमा पार्टीका स्थायी समिति सदस्य हरीभक्त कडेंल प्रतिकको उपस्थिति रहेको छ ।

त्यस्तै उक्त कार्यक्रममा पार्टीका पोलिट व्यूरो सदस्य तथा प्रदेश सेक्रेटरी लालबहादुरको विशेष उपस्थिति रहेको छ भने पार्टीका केन्द्रीय सदस्य तथा इन्चार्ज मिन कुमार लगायत पार्टी निकट विभिन्न मोर्चा तथा संगठनका नेताहरुको आतिथ्यता रहेको बताइएको छ ।

सम्मेलनको उद्घाटन शत्र लगत्तै आजै बन्द शत्र सम्पन्न गने तयारी आयोजकको रहेको छ । सम्मेलनबाट पार्टीको योजना र तयारी अनुसार भूमिका निर्वाह गर्न सक्ने जुझारु नेतृत्व निर्वाचित हुने अपेक्षा नेता, कार्यकर्ताहरुले गर्दै आएका छन ।

त्यहाँ पार्टीको नेतृत्वमा परिवर्तन हुने सम्भावना रहको बुझिएको छ । एक नेताले हरपलसँगको कुराकानीमा जुझारु नेतृत्व गर्न सक्ने टिम निर्वाचित भएर आउँने विश्वास गरिएको बताएका छन ।

सम्मेलनको उद्घाटन गर्दै क्रान्तिकारी माओवादीका स्थायी समित सदस्य कडेलले दलाल, तस्करहरुलाई राज्यले संरक्षण दिएको भन्दै त्यस्ता घटनाहरुको खोजि खोजि कारबाहीमा उत्रिन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन ।

उनले पार्टीले सञ्चालन गरेका सबै अभियानहरुमा सक्रिय जोडिदैँ त्यसमा जनताको सहभागिता बढाउनतिर ध्यान दिनुपर्नेमा जोड दिए । उनले जनताको साथ समर्थनमा अघि बढ्नुपर्ने भन्दै राज्यको गलत नीतिको विरोधका लागि संघर्षको व्यापक तयारीमा लाग्न आग्रह गरे ।

कार्यक्रममा पोलिटव्यूरो सदस्य लालबहादुर, इन्चार्ज मिन कुमार लगायतका अन्य नेताहरुले समेत स्वागत मन्तव्यका क्रममा आफ्नो धारणा राखेका छन । कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट नेता, कार्यकर्ताहरुको भिड लागेको बताइएको छ ।

त्यसैगरी उदयपुरमा समेत अन्य जिल्लाहरुको जस्तै जनयुद्ध दिवसको कार्यक्रम गर्ने तयारी भैरहेको बताइएको छ । मुलत संघर्षको तयारीका रुपमा जनयुद्ध दिवस मनाउने तयारी भएको जानकारी प्राप्त भएको छ ।

त्यहाँ रातो मार्चपास वा अन्य विरोध प्रदर्शनको कुनै कार्यक्रम गरिने बताइएको छ । त्यसको ठोस निर्णय जिल्ला समितिको निर्वाचित पहिलो बैठकले गर्ने बताइएको छ ।

फागुन १ गते, जनयुद्ध दिवसलाई संघर्षको रुपमा मनाउने पार्टी केन्द्रको निर्देशन अनुसार विभिन्न जिल्लाहरुमा रातो मार्चपास, र्याली, मसाल जुलुस लगायत शक्ति प्रदर्शन जस्ता कार्यक्रमको तयारी क्रान्तिकारी माओवादीले देशव्यापी रुपमा गरिरहेको छ ।

जनयुद्ध दिवसको सन्दर्भमा प्रदेश नम्बर दुईका विभिन्न जिल्लाहरुलाई मुख्य दुई ठाउँमा केन्द्रीत गरेर यार्ली सहित रातो मार्चपास गरिने भएको छ ।

जस्मध्ये रातहट, बारा, पर्साको शक्तिलाई रौतहटमा भव्य कार्यक्रम गरिने भएको छ । स्थानीय पार्टीले त्यहाँ सम्बोधनका लागि पार्टीका वरिष्ठ नेता तथा देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेल आउँने बताएका छन ।

त्यस्तै धनुषा, महोत्तरी, सर्लाही, सप्तरी लगायतका जिल्लाहरुको शक्ति केन्द्रीकरण गरेर क्रान्तिकारी माओवादीले सिराहको गोलबजारमा वृहत र्याली सहितको रातो मार्चपासको कार्यक्रम गर्ने तयारी गरेको बुझिएको छ । सिराहको कार्यक्रमलाई पार्टी स्थायी कमिटी सदस्य प्रतिकले सम्बोधन गर्ने कार्यक्रम ठोस भएको छ ।