दैलेखमा क्रान्तिकारी माओवादीको भव्य जनसभाः पार्टी प्रवेशको लहर बढ्यो

दलाल, भ्रष्टहरुलाई कारबाही गर्न निर्देशन

दैलेख । नेकपा (क्रान्तिकारी माओवादी) मा विभिन्न पार्टी परित्याग गरी प्रवेश गर्ने क्रम पछिल्लो समयमा बढ्दै गएको नेताहरुले बताउने गरेका छन । त्यहि क्रममा शुक्रबार दैलेखमा पनि सत्ताँरुढ नेकपा र अन्य पार्टीबाट क्रान्तिकारी माओवादीमा आउनेको लहर देखियो ।

क्रान्तिकारी माओवादी दैलेखको चामुण्डाविन्द्रासैनि नगर कमिटीले आयोजना गरेको जनसभाको कार्यक्रममा उनीहरुले त्यस्तो घोषणा गरेका हुन ।

सत्ताँरुढ नेकपा दलाल, तस्करको संरक्षणमा लागेको र त्यहाँबाट जनताको सपना पुरा नहुने भन्दै नव पार्टी प्रवेशीहरुले अब सबैको आशा क्रान्तिकारी माओवादीमा रहेकाले आफुहरुले पनि पार्टी प्रवेश गरेको बताए ।

दैलेखमा क्रान्तिकारी माओवादीको जनसभामा सयौं स्थानीयवासीहरुको सहभागिता रहेको थियो । उक्त सभाको प्रमुख वक्ताका रुपमा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य रामसिंह श्रीस राजविरले सम्बोधन गरेका थिए ।

नेता श्रीसले जनसभालाई सम्बोधन गर्दै मुलुकमा दलाल, तस्कर र माफीयाहरुको राज भएको भन्दै त्यस्ता प्रवृतिका विरुद्ध जनकारबार्हीको प्रकृया अघि बढाउन पाटीका नेता, कार्यकर्ताहरुलाई कडा निर्देशन दिए ।

उनले जनतालाई आफ्नो हक, अधिकार खोसेर लिनुपर्ने भन्दै त्यसका लागि क्रान्तिकारी माओवादीका सबै अभियानहरुमा सँग सँगै अघि बढ्न र सहयोग गर्न सुझाव समेत दिए ।

अहिले मुलुकमा कम्युनिस्ट सरकारको भ्रम जनतामा बाँडिएको भन्दै उनले सारमा यतिबेला कम्युनिस्ट नामधारी, नक्कली कम्युनिस्टहरुले जनतालाई झुक्याउने र सत्ताँ टिकाउने प्रयत्न गरिरहेको भन्दै अहिलेको सत्ताँ र व्यवस्था दलाल, पूजिँपति वर्गको हितमा रहेको उनले बताए ।

नेता श्रीसले वर्तमान संसदीय व्यवस्थाको अन्त्य नभएसम्म मुलुकमा विकास र संवृद्धिको कुरा भाषणमा मात्र सिमित हुने र जनताले पनि न्यायको अनुभूति गर्न नसक्ने भएकाले त्यसको विकल्पमा संघर्षको माध्यमबाट जनगाणतन्त्रको स्थापना गर्नुपर्नेमा जोड दिए ।

उनले दलालहरुको व्यवस्था भत्काउने अभियानका विभिन्न पार्टी परित्याग गरी आएकाहरुलाई स्वागत गर्दै अन्य सबैलाई त्यो प्रकृयामा जुट्न अपिल समेत गरें ।

आयोजक नगर कमिटीका सेक्रेटरी मोहन शाहीको अध्यक्षतामा सम्पन्न उक्त जनसभामा विशेष अतिथिका रुपमा पार्टी केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सेक्रेटरी कृष्ण गुरुङ, अस्मान र अतिथिहरुमा पार्टी केन्द्रीय सदस्य तथा दैलेख जिल्ला इन्चार्ज दिपक बहादुर शाही प्रकाश, जिल्ला सेक्रेटरी विरेन्द्र शाही अशोक लगायतले समेत सम्बोधन गरेका थिए ।

त्यसैगरी उक्त जनसभामा क्रान्तिकारी माओवादीको कर्णाली प्रदेश सदस्य गंगेकामी, अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय सदस्य कमला चन्द्रशाही, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य हिक्मत शाही, हिमाल बिक, क्रान्तिकारी युवा लिग दैलेखका संयोजक सुरेन्द्र विक लगायतको समेत आतिथ्यता रहेको थियो ।

कार्यक्रममो सञ्चालन विश्वप्रकाशले गरेका थिए । सभामा नगरका विभिन्न स्थानबाट सर्वसाधरण नागरिकहरु सामेल भएका थिए ।