नेता प्रभाकर भन्छन:’अहिले पनि हिजोको केन्द्रीकृत सामन्ती व्यवस्थाको गन्ध आइरहेको छ’

सरकारले नियन्त्रण गर्यो स्थानीय निकायको अधिकार

काठमाडौं । नेकपा स्थायी समिति सदस्य एवम् पूर्वगृहमन्त्री जनार्दन शर्मा प्रभाकरले हिजोको केन्द्रीकृत सामन्ती व्यवस्थाको गन्ध अहिले पनि आइरहेको बताएका छन ।

आज राजधानीमा आयोजित ‘स्थानीय तह सरकार सञ्चालन–२०७४, न्यायिक समितिः कार्यविधि र प्रक्रिया’ नामक पुस्तकको विमोचन कार्यक्रममा बोल्दै नेता प्रभाकरले त्यस्तो बताएका हुन् ।

परिवर्तनका लागि बलिदानीपूर्ण इतिहास रच्दै ल्याएको गणतन्त्र नेपालको सरकारले समेत प्रदेश र स्थानीय तहलाई नियन्त्रणमा लिन खोजेको भन्दै उनले पुरानो केन्द्रीकृत राज्यसत्ताको अझै गन्ध आइरहेको बताएका थिए ।

उनले भने-‘कानुन निमार्ण गर्ने विषयमा, तल्लो तहलाई अधिकार दिने विषयमा सरकारले नियन्त्रण गर्ने काम गरेको देखिन्छ, त्यस्तो नियन्त्रण मान्य हुँदैन । हिजो हामीले संघीय गणतन्त्रका लागि लडेका थियौं, निरंकुश राजतन्त्रका विरुद्धमा लडेका हौँ । निरंकुशताको विरुद्धमा लडेका थियौं ।’

उनले संविधानमा लेखिएको हुबहु लागू नगरी त्यसलाई नियन्त्रणमा राख्ने काम भैरहेको भन्दै संविधान र त्यसले व्यवस्था गरेको अधिकार नियन्त्रण गर्न खोजे त्यसले कसैलाई पनि फाइदा नहुने बताएका छन ।

उनले राज्यको त्यस्तो निरंकुशताका विरुद्ध संघर्ष गर्न समेत चेतावनी दिए । स्थानीय तह अधिकार सम्पन्न र बलियो बनाएमा मात्र संविधानले परिकल्पना गरेको राज्य पुनर्संरचनाले सार्थकता पाउने उनको तर्क थियो ।