अख्तियारको फन्दामा वन कार्यालयका कर्मचारीः १० हजार घुससहित ४ पक्राउ

काठको विषयमा घुस मागेको खुलासा

बाँके । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको राँझाबाट नम्बरी जग्गामा रहेका काठहरुको टाँचामा छुटदिने भन्दै घुस मागेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा नेपालगञ्ज सव–डिभिजन वन कार्यालय राँझामा कार्यरत रेन्जर जगविर खत्रीसहित ४ जनालाई अख्तियारले पक्राउ गरेको हो ।

श्रोतका अनुसार नेपालगन्जस्थित सम्पर्क कार्यालयबाट खटिएको अख्तियारको टोलीले रेन्जर खत्रीसहित फोरेस्टर बहादुर केसी, केशव बहादुर वली र वन रक्षक हरी कुमार चन्दलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।

निजि जग्गामा लगाइएका रुखहरुका टाँचामा छुट गर्ने भन्दै स्थानीयबाट नगद रु १० हजार घुस लिने क्रममा अमाज उनीहरुलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको खुल्न आएको छ ।

पक्राउ परेकाहरुमाथि अख्तियारले अनुसन्धान प्रकृया अघि बढाएको जानकारी प्राप्त भएको छ । उक्त घटनाको विषयमा थप जानकारी आउँन बाँकी छ ।