टरिगाउँ बिमानस्थल निर्माणको प्रकृया अघि बढ्ने सभामुख महराको विश्वास

सोमबार टर्मिनल भवनको सिलन्यास हुँदै

दाङ । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले दाङको टरिगाउँ बिमानस्थल निर्माण प्रकृयामा रोकिएको काम तत्काल शुरु हुने बताएका छन ।

आज बिहान दाङको टरिगाउँ बिमानस्थलमा रिपोर्टर्स क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभामुख महराले त्यस्तो बताएका हुन ।

उनले विविध कारणले निर्माण प्रकृयामा आवश्यक पर्ने सामाग्रीहरु पुर्याउन नसकिएको भन्दै अब छिट्टै त्यसको व्यवस्था गरिने बताए । उनले बिमानस्थलका लागि दाङमा अस्थायी इन्धन डिपो ल्याउने तयारी भएको जनाए ।

उनले भने–‘यसअघि अस्थायी ईन्धन डिपो ल्याउने बिषयमा आयल निगमसंग मन्त्री र सचिबले तोक लगाइसक्नुभएको थियो तर,कर्मचारीले त्यो फाईल गायव गरेपछि ढिलाई भएको हो ।’

दाङको एकमात्रै विमानस्थल निर्माणको काममा कर्मचारीकै कारणले ढिलो भएको भन्दै उनले टरिगाउँ बिमान स्थलका लागि छिट्टै अस्थायी इन्धन डिपो पढाउने पुन तयारी भएको बताए ।

त्यसैगरी बिमानस्थमा टर्मिनल भवन निर्माणको काम पनि अघि बढेको उनको भनाई छ । प्राप्त जानकारी अनुसार सोमबार त्यहाँ टर्मिनल भवनको सिलन्यास गर्न लागिएको छ ।

उपमहानगरपालिकाका प्रबक्ता श्याम डाँगीले बिमानस्थल निर्माणको कामलाई निरन्तरता दिन उपमहानगरपालिकाले निरन्तर प्राबिधिक सहयोग जुटाइरहेको बताए ।

त्यसैबीच सभामुख महराले चिकित्सा शिक्षा बिद्येयकको नाममा निरन्तर सदनमा विरोध जनाउँनु, काम कारबाही रोक्नु कांग्रेसको गलत नियत भएको समेत औल्याए ।