सुर्खेतका मालपोत अधिकृतलाई क्रान्तिकारी युवा लिगद्धारा कारबाहीः कार्यकक्षमै दले कालोमोसो (विज्ञप्तीसहित)

भ्रष्ट, तस्करहरुमा थप कारबाही गर्ने चेतावनी

सुर्खेत । नेकपा (क्रान्तिकारी माओवादी) निकटको युवा संगठनका नेताहरुले जिल्ला मालपोत कार्यालय सुर्खेतका सूचना अधिकृत नरबादुर घर्तिलाई व्यापक अनियमितता गरेको आरोपमा उनकै कार्यकक्षमा गएर कारबाही गरेको छ ।

क्रान्तिकारी युवा लिग नेपाल, सुर्खेतका नेता हिमाल शाहिले सूचना अधिकृतले सार्व साधारण नागरिकलाई अनाहकमा दुख दिने र कार्यालयमा बसेर कमाउ धन्दा गरेको कारण आफ्नो संगठनले पहिलो चरणको कारबाही गरेको जनाएका छन ।

युवा नेता शाहिले घटनाको विषयमा संगठनको तर्फबाट जिम्मा लिदैँ सूचना अधिकारीले नागरिकसँग घुस लिने गरेको र सरकारी कुर्सिमा बसेर ब्यापक अनियमितता गरेको जनाउँदै विज्ञप्ती जारी गरेका छन ।

नेता शाहिले समाजमा रहेका दलाल, तस्कर र बेइमानहरुलाई पार्टीको नीति तथा योजना अनुसार कारबाही प्रकृया निरन्तर अघि बढ्ने जनाएका छन ।

विज्ञप्ती अनुसार सूचना अधिकृत घर्तिलाई क्रान्तिकारी युवा लिगका युवाहरुको एक समूहले उनको कार्यकक्षमा प्रवेश गरी भ्रष्टाचारी भन्दै नारा लगाउँदै कालोमोसो दलेको बुझिएको बुझिएको छ । घटनाको अरु विवरण आउन बाँकी छ । युवा लिगद्धारा जारी विज्ञप्ती यस्तो छ

क्रान्तिकारी युवा लिग, नेपाल

जिल्ला समिति सुर्खेत

मितिः २०७५ /१०/१६ गते

प्रेस–विज्ञप्ती

विषयः भ्रष्टाचारी सरकारी कर्मचारीलाई कारबाही गरिएकोबारे !

सबै प्रकारका भ्रष्ट, दलाल, तस्कर र राष्टिघाती, जनघातीमाथि कारबाही गर्ने भन्ने हाम्रो संगठनको केन्द्रीय योजना अनुसार आज सुर्खेतको मालपोत कार्यालमा सूचना अधिकृतको रुपमा कार्यरत नरबहादुर घर्तिलाई संगठनका युवा साथिहरुले कारबाही गरेको व्यवहोरा जानकारी गराउदछौं ।

सरकारी कुर्सिमा बसेर सर्वसाधारण नागरिकलाई अनहकमा दुःख दिने, आर्थिक अनियमितता गर्ने काममा उनको संलग्नता रहेको विषयमा जानकारी पाएपछि हाम्रो संगठनले निगरानी बढाउँदै आएकोमा आज उनको कार्यकक्षमै पुगेर केही युवा साथीहरुले कालोमोसो दलेर चेतावनी स्वरुपको कारबाही गरेका छन । सूचना अधिकृत घर्तिले सरकारी पदको दूरुपयोग गर्दै व्यापक अनियमितता गरेको हुनाले उनलाई कारबाही गरेको विषय जानकारीका लागि यो विज्ञप्ती जारी गरीएको छ ।

हामी जनन्यायीक व्यवस्थाको पक्षमा छौं । सबै क्रान्तिकारी युवा, परिवर्तनगामि समुदायलाई क्रान्तिको प्रकृया संगठित हुन समेत यसै विज्ञप्ती मार्फत अपिल गर्दछौं ।

क्रान्तिकारी अभिवादन सहित !

क्रान्तिकारी युवा लिग नेपाल, सुर्खेत
हिमाल शाहि