लैनचौर पुगेर प्रधानमन्त्री ओलीले भनेः अब अधिकारका लागि सहिद हुनु पर्दैन

भ्रष्टाचारको अन्त्य गर्न सङ्कल्प

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहिद दिवसका अवसरमा लैनचौरस्थित सहिद स्मृति पार्क गई श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले मुलुकमा लोकतान्त्रिक शासन स्थापना भइसकेकाले अब अधिकारका लागि कसैले सहिद हुनु नपर्ने बताए ।

प्रकृतिले धनी बनाएको नेपाललाई सहिदको सपनाबमोजिम सुशासन र आर्थिक विकासका लागि सिङ्गो देश एकबद्ध हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षामार्फत देशलाई आर्थिक रुपान्तरणको चरणमा लाने समय आएको उल्लेख गरे ।

उनले भने, ‘सुशासन कायम गरी भ्रष्टाचारको अन्त्य गर्न आजको दिनमा सबै फेरि सङ्कल्प गरौँ, जनमतलाई सम्मान गर्दै विधिको शासन कायम गरी अधिकारको समानतासहित देशलाई समुन्नत र विकासशील बनाएर भावी पुस्तालाई सुम्पौँ ।’

मुलुकमा प्रजातन्त्र स्थापनाका लागि प्राण आहुति गर्ने सहिदलाई सम्मान गर्न प्रधानमन्त्री ओली लैनचौर पुगेका हुन्। सो अवसरमा नेपाली सेनाको टुकडीले सम्मान अर्पण गरेको थियो।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सरकारको समृद्ध नेपाल, सुखी नेपाली लक्ष्य पूरा गरेर सहिदको सपना पूरा गर्ने समय आएको बताए।

कार्यक्रममा मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, विशिष्ट कर्मचारी र जनप्रतिनिधिको सहभागिता थियो । प्रदेश नं ३ सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ । रासस