‘जिउँदो सहिद’ मुकेश कायस्थको पीडाः १३ वर्षदेखि समस्यामा

परिवारप्रति सरकार कठोर हुँदै

काठमाडौं । दोस्रो जनआन्दोलन देशभरि चर्किरहेको थियो । २६ चैत ०६२ मा काभ्रे बनेपा–४ का भीमसेन दाहाल सुरक्षाकर्मीको गोलीबाट पोखरामा मारिए । दाहालको मृत्युपछि काभ्रे झन् आन्दोलित बन्यो । काभ्रेवासीले आन्दोलन सुरु गरे ।

१४ वर्षका मुकेश कायस्थ पनि आन्दोलनमा उत्रिए । बनेपामा २७ चैतमा सुरक्षाकर्मीले चलाएको गोली लागेर मुकेश घाइते भए । सोही दिनदेखि ओछ्यानमा परेका मुकेश अहिलेसम्म उठ्न सकेका छैनन् ।

गोली लाग्दा १४ वर्षको मुकेश अहिले २७ वर्षका भए । तर, गोलीले बनाएको कन्चटको घाउको खत अझै प्रस्ट देखिन्छ । गोली लागेर घाइते भएपछिको केही समय अस्पतालमा बिताएका उनी अहिले प्रायः घरमै रहन्छन् ।

सारोगाह्रो भएको अवस्थामा मात्र उनलाई अस्पताल लाने गरिएको छ । मुकेशलाई जनताले ‘जिउँदो सहिद’ विशेषण दिएका छन् । तर, उनको पारिवारिक अवस्था भने निकै दयनीय छ ।

गणतन्त्र स्थापनाका लागि ज्यानको बाजी लगाएर ०६२÷०६३ सालको जनआन्दोलनमा घाइते भएका मुकेश कायस्थको परिवारले अझै देशमा परिवर्तन आएको महसुस गर्न सकेको छैन ।

मुकेशका लागि विभिन्न मन्त्रालय धाउँदा कर्मचारीको दुःख दिने प्रवृत्तिका कारण परिवारले व्यवस्थामा परिवर्तन महसुस नगरेको हो ।

देशमा गणतन्त्र स्थापना भए पनि सहिद परिवारले परिवर्तनको महसुस गर्न पाएको छैन । देशमा स्थानीय, प्रदेश र संघीय निर्वाचनपछि तीनै तहका सरकार बनेका छन् । तर, आन्दोलनमा रगत बगाएका मुकेशहरूको अवस्था भने झन् दयनीय बन्दै गएको छ ।

‘त्यतिखेर देशका लागि लडेर मेरो छोराजस्तै धेरै परिवारका छोरा–छोरी घाइते भए, सहिद भए । जनआन्दोलनकै परिणामले देशले लोकतन्त्र पाएको छ, तर हामीले देश परिर्वतनको महसुस गर्न पाएका छैनौँ,’ मुकेशकी आमा मीरा भन्छिन्, ‘मुकेशकै लागि त सरकारले केही गरेको छ । तर, मुकेशजस्तै धेरै घाइते, सहिद र उनीहरूका परिवारको अवस्था निकै दयनीय छ भन्ने सुनेको छु ।’

मुकेशको उपचारमा लागेको खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ । तर, पछिल्लो समय अस्पतालमा उपचार गरेको खर्च दिन स्वास्थ्य मन्त्रालयका सचिवले विभिन्न बहानामा दुःख दिएको आमा मीराले बताइन् ।

महँगो अस्पतालमा लगेको भनी स्वास्थ्य मन्त्रालयको सचिवले उपचार खर्च व्यहोर्न नसक्ने भनेको उनको भनाइ छ । ‘छोराको उपचारभन्दा ठूलो कुरा अरू के हुन्छ र आमालाई, त्यसैकारण मेडिसिटी अस्पतालमा उपचार गर्न लगियो, तर पछि स्वास्थ्य मन्त्रालयका सचिवले त्यति धेरै रकम सरकारले तिर्न सक्दैन, सरकारी अस्पतालमा उपचार गर्नुपथ्र्यो भने,’ मीराले भनिन् ।

मुकेशको नाममा पुनर्स्थापना केन्द्र स्थापना माग
जनआन्दोलनका घाइतेको पुनर्स्थापनाका लागि सरकारले मुकेशको नाममा पुनस्र्थापना केन्द्र खोलिदिनुपर्ने परिवारको माग छ । मुकेशजस्तै जनआन्दोलन, जनयुद्ध तथा अन्य आन्दोलनमा घाइते भई अपांगता भएकाको उपचारका लागि छुट्टै अस्पताल तथा पुनस्र्थापना केन्द्रको आवश्यकता रहेको मीराले बताइन् ।

मुकेशलाई ‘जिउँदो सहिद’ भनेर सम्बोधन गरिन्छ । यो जनस्तरबाट घोषणा भएको हो । सरकारले नै मुकेशलाई जिउँदो सहिद घोषणा गर्नुपर्ने परिवारको माग छ ।

‘सरकारले क्याबिनेटबाटै जिउँदो सहिद घोषणा गर्नुपर्छ,’ आमा मीराले भनिन् । सरकारले मुकेशलाई शतप्रतिशत घाइते भनेर परिचयपत्र उपलब्ध गराएको छ । त्यसबाहेक अन्य सम्मान गर्न नसकेको उनले बताइन् ।

त्यश्रतै अवस्था बनेपा नगरपालिका–४ का देवकी दाहाल सहिद भीमसेन दाहालकी श्रीमतीको पनि छ । अहिलेको देशको अवस्थाप्रति सहिद परिवार पनि खुसी छैन ।

गणतन्त्र स्थापनापछि त झन् देशमा महँगी, भ्रष्टाचार र महिला हिंसा मात्र बढेको देवकीको भनाइ छ । परिवर्तनको केही आभास नभएको उनले बताइन् । उनी भन्छिन्, ‘हामीले देशमा परिवर्तन भएको महसुस गर्न सकेका छैनौँ । महँगी, भ्रष्टाचार, अस्थिरता झन् बढ्दै गएको छ ।’ यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।