पहिचानसहितको राज्य पुनसंरचनाका लागि संघर्षमा जोड

प्रदेश अधिवेशन माघ १९ गते बुटवलमा

बुटवल । नेपाल मगर संघका ५ नम्बर प्रदेश संयोजक धनबहादुर पुनले संविधानमा पहिचानसहितको राज्य पुनसंरचनाको विषय नसमेटिएको भन्दै त्यसलाई पूर्ण गराउनका लागि थप संघर्ष आवश्यक रहेको बताएका छन ।

संघका प्रदेश संयोजक पुनले आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै त्यस्तो बताएका हुन ।

संविधानलाई पूर्ण बनाउनका लागि दबावमूलक आन्दोलन आवश्यकता रहेकोमा उनको जोड रहेको छ ।

संघले रुकुम पूर्वदेखि पाल्पासम्मको भेगमा मगर समुदायको बाक्लो बस्ती भएको भन्दै ती क्षेत्रहरुलाई समेटेर मगरात स्वायत्त क्षेत्र घोषणा गनुपर्ने बताए ।

मगर संघले प्रदेश ५ को कूल जनसंख्याको १९ प्रतिशत मगर रहेको दावी गर्दै प्रदेशको नाम मगरात हुनुपर्ने तर्क अघि सारेको छ ।

उनले २०६८ को जनगणना अनुसार प्रदेश ५ मा मगरको जनसंख्या सात लाख एक हजार पांच सय ८६ रहेको समेत बताए ।

प्रदेश पाँचमा मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउन उनले आग्रह समेत गरे । उनले आफ्ना मागहरुको कार्यान्वयन नगरेमा संघर्षको बाटो अबलम्बन गरिने भन्दै राज्यलाई चेतावनी समेत दिए ।

माघ १९ गते बुटवलमा संघको प्रदेश अधिवेशनसमेतको तयारी भैरहेको सन्दर्भमा आज त्यहाँ पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।