दलाल तस्कर विरुद्ध बाँके बर्दियामा क्रान्तिकारी माओवादीको अभियानः बढ्दो जनसमर्थन

सबै क्षेत्रमा संगठन निमार्णः संघर्षका कार्यक्रममा जोड

बर्दिया । जनसंघर्ष, वर्गसंघर्ष र प्रतिरोध संघर्षको उठान गर्न नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय समितिको बैठकले निर्देशन गरेसँगै पछिल्लो चरणमा उक्त पार्टीका नेता कार्यकर्ताहरु आधारभूत वर्गका जनतासँग जोडिएर देशैभरी आफ्नो राजनैतिक तथा सांगठनिक कामहरुमा सक्रिय रहेका देखिन्छन ।

श्रोतका अनुसार ‘जहाँ जनताका समस्या हुन्छन, जहाँ राष्ट्रघात, जनघातका दुष्प्रयासहरु गरिन्छन, जहाँ थिचोमिचो र अन्यायपूर्ण गतिबिधिहरु बढ्छन, त्यहाँ क्रान्तिकारी माओवादी पुगेर जनतासँग जोडिने’ पार्टी योजना अनुसार देशभरका नेता कार्यकर्ताहरु सक्रियपूर्वक जुट्ने गरेका छन ।

श्रोतका अनुसार केन्द्रीय तहदेखि स्थानीय तहसम्म दलाल, तस्कर र भ्रष्टाचारीहरुलाई कारबाही गर्ने योजनामा जोडिन पार्टी हेड्क्वाटरले यस अघि नै निर्देशन दिएको छ । उक्त योजना अनुसार काठमाडौंमा बाइड बडि जहाज प्रकरणमा भ्रष्टाचार गरेको अभियोगमा कालोमोसो दलेको क्रान्तिकारी माओवादीले स्थानीय स्तरमा समेत कारबाहीको प्रकृया शुवात गरिरहेको जानकारी प्राप्त भएको छ ।

जनसंघर्ष, वर्गसंघर्ष र प्रतिरोध संघर्षको उठान गर्नका लागि क्रान्तिकारी माओवादी पछिल्लो चरणमा गाउँ गाउँमा पार्टी संगठन र सबै ठाउँमा विद्यार्थी, युवा, किसान लगायतका सबै उत्पीडित वर्ग, समुदायका मोर्चाहरु निर्माणमा जुटेको देखिन्छ ।

पार्टी योजना अनुसारका कारबाही प्रकृयामा बर्दिया र बाँकेमा आधारभूत तयारी गरिएको बताइएको छ । क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा बर्दिया र बाँकेका इन्चार्ज संकुल शर्माले हरपल नेपालको प्रश्नमा त्यस्तो बताएका हुन ।

नेता संकुलले समाजमा सहननै नसकिने खालका अत्यन्त अन्यापूर्ण गतिबिधिहरु राज्यपक्षसँग जोडिएकाहरुले गरिरहेको र त्यसमा आफ्नो पार्टीले सुधारको अवसर दिएपनि त्यो नदेखिएको बताए । उनले त्यसको विरुद्धमा संघर्ष गर्नुको विकल्प नहुने प्रतिकृया दिए ।

त्यसो त क्रान्तिकारी माओवादीले बर्दिया र बाँकेमा देशका अन्य जिल्लाको तुलनामा सांगठनीक तथा राजनैतिक काम गतिबिधिहरुलाई तिब्र बनाउँदै लगेको देखिएको छ । त्यहाँ सामान्य जनकारबाहीदेखि दलाल, तस्ककरका विरुद्धको संघर्ष यसअघि नै शुरुवात भैसकेको थियो ।

प्राप्त जानकारी अनुसार बर्दियाका ८ वटै स्थानीय निकायमा क्रान्तिकारी माओवादी पार्टीको संगठन निर्माण भैसकेका छन भने त्यहाँ अधिकाशं जनवर्गिय संगठन र मोर्चाहरुको भेला, सम्मेलन सकिएको छ ।

त्यस्तै आज बर्दियाको भुरिगाउँमा महिलाको जिल्ला समितिको विस्तारित बैठक बस्दै छ । उक्त बैठकले जिल्ला भेलाको मिति ठोस गर्ने बताइएको छ ।

बर्दियामा गेरुवा गाउँपालिका र बढैयाताल गाउँपालिकामा देजमोको भेला सम्पन्न भएको र अन्य सबै निकायमा सम्मेलन भएको बताइएको छ । मधुवन नगरपालिकामा १९ गते, राजापुर नगरपालिकामा २० गते नगरसम्मेलन हुँदैछ । शिक्षक, विद्यार्थी, किसान, थारु मोर्चाको भेला, सम्मेलन तत्काल गर्ने तयारी गरिएको छ ।

त्यस्तै देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालको बाँकेमा २३ गते र बर्दियामा २४ गते जिल्ला सम्मेलनको तयारी गरिएको समेत जानकारी प्राप्त भएको छ । भने बाँकेमा पनि क्रान्तिकारी माओवादीले संघर्षका कार्यक्रमको तयारी र संगठन निमार्णको कामलाई तिब्रताका साथ सञ्चालन गरेको देखिन्छ ।

बाँकेका सबै स्थानीय निकायहरुमा पार्टीको एरिया कमिटीको सम्मेलन सकिएको र अधिकाशं एरियामा देजमोको भेला, सम्मेलन सम्पन्न भएका छन । क्रान्तिकारी माओवादी बाँकेका सेक्रेटरी तेजविक्रम शाही अर्जुनका अनुसार आज देजमोको जानकी गाउँपालिमा नगर भेला, पर्सि नरैनापुरमा सम्मेलन र १८ गते राप्तीसोनारीमा सम्मेलनको तयारी भैरहेको छ ।

त्यस्तै गत १२ गते खजुरामा देजमो नेपालको सम्मेलन भव्य रुपमा गरीएको सेक्रेटरी अर्जुनले बताए । उनले त्यहाँ ९ सदस्यीय कमिटी गठन भएको समेत जनाएका छन । उनले जिल्लामा अधिकांश जनवर्गिय मोर्चा र संगठनहरुको भेला सम्मेलन सकिएको र युवा, किसान, विद्यार्थी लगायतको तत्काल गर्ने तयारी भैरहेको बताए ।

त्यस्तै बाँकेमा भोली अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को जिल्लाको विस्तारित बैठक बस्ने र त्यसले भेला वा सम्मेलनको मिति ठोस गर्ने सेक्रेटरी अर्जुनले बताएका छन ।

क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य समेत रहेका नेता संकुलले जिल्लाहरुमा संघर्षको रुपरेखा तयार भएको र त्यसको तयारीको लागि केही समय संगठनमा जुटिरहेको प्रति संकेत गरे ।

उनले भने‘यहाँका अन्तरविरोध र स्थानीय समस्याहरुको विषयमा हामीले लामो समयदेखि अध्ययन गरेका छौं । अब संघर्षको विकल्प छैन, पार्टीको योजनामा हामी दलाल, तस्कर र भ्रष्टहरुका विरुद्ध अभियान नै चलाउँदैँछौ । यसमा आम जनसमुदायको साथ र समर्थनको पार्टीले अपेक्षा गरको छ ।’

त्यसो छ बर्दियामा जमिन्दार, भूमाफीया र दलालीकरणका विरुद्ध क्रान्तिकारी माओवादीले स्थानीय निकायमा यस अघि समेत जनतालाई अघि सारेर विरोध गर्दै आएको थियो । विगतमा त्यहाँ धेरै विगाहा जमिनमा उक्त पार्टीले झण्डा गाडेर कब्जा समेत गरेको थियो । पुनः त्यो कार्यक्रमलाई निरन्तरता दिने योजना बनेको बुझिएको छ ।

त्यस्तै बाँकेमा पनि जनताको साथ समर्थनमा ठूला ठूला मुद्धाहरुमा पार्टीले संघर्ष गरीरहेको नेताहरुको भनाइ छ ।

त्यहाँको खजुरा ३ क गाउँमा बर्षैदेखि बस्दै आएका स्थानीयहरुलाई भूमाफीयाहरुले लालपूर्जा देखाउँदै उठाउँने प्रयत्न गरेको, सिमलघारीमा पहिले पार्टीले कब्जा गरी जनता बसाएको जमिनबाट पनि उठाउने प्रयत्न भएको, नेपालगञ्जमा एक दलित परिवारको उठिबास गराउन खोजेको र नरैनापुरमा सामुदायीक बनको नाममा बर्षैदेखि बस्दै आएका स्थानीयमाथि अन्याय गरेको घटनामा पार्टीले कडा संघर्ष गरिरहेको सेक्रेटरी अर्जुनको भनाइ छ ।

जिल्लामा देखिएका समस्याहरुको विषयमा वार्ता सम्बाद र छलफलले क्षणिक निकास दिएपनि अन्तः दिर्घकालिन समाधानको लागि दलाल संसदीय व्यवस्था भत्काउनका लागि संघर्षमै जानुपर्ने क्रान्तिकारी माओवादीका नेताहरु बताउँछन ।

बर्दिया र बाँकेमा मात्र नभएर अधिकांश जिल्लाहरुमा पछिल्लो चरणमा क्रान्तिकारी माओवादीको सांगठनीक तथा राजनीतिक गतिबिधि बढ्दै गएको देखिन्छ । उसको गतिबिधिलाई राज्यको सुरक्षा अंगले निकै नजिकबाट अध्ययन गरिरहेको र पछिल्लो समयमा नेताहरु पक्राउ, गिरफ्तारका घटनाहरु बढेको उनीहरु बताउँछन ।

काठमाडौंमा कालोमोसो दलेको अभियोगमा उक्त पार्टीका नेता पक्राउ परेका थिए भने पछिल्लो समय सुर्खेत पार्टीमा अरु पार्टी परित्याग गरी आउने क्रम बढेपछि वालपेन्टीङ गरेको बाहनामा प्रशासनले आफ्ना नेताको पक्राउ गरेको भन्दै क्रान्तिकारी माओवादीले विरोध जनाएको थियो ।