त्रिवि अस्पतालभित्र डा.केसीको समर्थनमा आन्दोलनः रिले अनसन जारी, सहमति कार्यान्वयनको माग

मन्त्रलाय र अस्पताल प्रसाशनको केही चलेनः प्रहरी पनि समर्थनमा

काठमाडौं । अनसनरत डा. गोविन्द केसीको समर्थनमा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल परिसरभित्र चिकित्सकहरु विगत दुई दिनदेखि सामूहिक रिले अनसनमा बसेका छन।

डा. केसीको जीवन रक्षाका लागि सरकारले उनीसँग गरेको सहमति कार्यान्वयन गर्न माग राख्दै दुई दिनदेखि नेपाल चिकित्सक सङ्घले अस्पतालभित्र त्यस्तो विरोधको कार्यक्रम गर्दै आउको हो।

डा. केसीले चिकित्सा शिक्षामा सुधारका लागि आवाज उठाएको र त्यसमा आफुहरुको समर्थन रहेकाले माग पुरा गराउनका लागि आन्दोलनमा उत्रिनु परेको चिकित्सक संघले बताउँदै आएको छ ।

डा. केसीले उठाएका मागहरु पुरा नभएसम्म आन्दोलन नरोक्ने अडान चिकित्सकहरुले राखेका छन । अस्पतालभित्र आन्दोलन नगरी काममा फर्कन भन्दै सरकार, मन्त्रालय र अस्पताल प्रशासनले आग्रह गरेपनि उनीहरुभने आफ्नो अडानमा यथावत रहने भन्दै आएका छन ।

चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले आफ्नो अडानबारे प्रष्ट पारेका छन । उनले भनेका छन–‘सरकार र डा केसीका बीचमा विगतमा भएको सहमति कार्यान्वयन नभएसम्म हाम्रो अनसनको कार्यक्रम जारी रहन्छ, हामी त्यो माग पुरा हुनुपर्छ भन्नेमा छौं ।’

अध्यक्ष श्रेष्ठले अनसनरत डा. केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको जनाउँदै भने–‘उहाँको स्वास्थ्य अवस्थामा राज्यको ध्यान पुगेको छैन, हामी काम छाडेर उहाँको जीवन रक्षाको लागि पनि यो आन्दोलन गर्द बाँध्य भएका हौं ।’

यसैबीच सोमबार स्वास्थ तथा जनसंख्या मन्त्रालय र अस्पतालले विज्ञप्ती जारी गर्दै अस्पतालमा आन्दोलन रोकेर विरामीको स्वास्थ्य सेवामा फर्कन अनुरोध गरेको भएपनि उनीहरुले भने त्यसलाई वास्ता गरेनन् ।

चिकित्सकहरुलाई कुनै धर्ना, विरोध तथा बन्द हड्तालका कार्यक्रम नराख्न तथा नगर्न गरेको आग्रहलाई चिकित्सकहरुले बेवास्ता गरेका छन् ।

अस्पताल पसिरमा अनशन, रिले अनशन तथा आन्दोलन रोकेर आम सर्वसाधारणको स्वास्थ्यको उपचारमा फर्कन भन्दै अस्पतालले विज्ञप्तिमार्फत आग्रह गरेको थियो भने मन्त्रालयका सहसचिव जनार्दन गुरागाईंको हस्ताक्षेरमा पनि त्यहि व्यहोराको विज्ञप्ती जारी भएको थियो ।

अस्पताल हामाभित्र कुनै पनि आन्दोलनका कार्यक्रम गर्न नपाइने भन्दै प्रहरीले आन्दोलनरत चिकित्सकहरुसँग त्यहाँबाट हट्न आग्रह गरेको भएपनि अन्तः प्रहरीले उनीहरुलाई त्यहाँ रिले अनसन बस्न र अन्तरक्रिया गर्न छुट दिएको छ ।

आन्दोलनरत चिकित्सकहरुलाई प्रहरीले अनसनरत डा. गोविन्द केसीको ब्यानर नराख्ने सर्तमा रिले अनसन बस्न दिएको जानकारी प्राप्त भएको छ । त्यहाँ आन्दोलनरत चिकित्सकहरुलाई प्रहरीले हटाउँन खोज्दा भनाभनको स्थिति आएको थियो ।

यसैबीच अनसनरत डा. केसीको स्वास्थ्य अवस्था नाजुक बनेको र उनी अहिले बोल्न नसक्ने अवस्थामा रहेको उनको उपचारमा खटिएका चिकित्सकले जनाएका छन । उनको पक्षमा काठमाडौंमा दिनहुँ आन्दोलनहरु भैरहेको देखिन्छ ।