उपमहानगरपालिकाले बाँड्यो, प्रत्येक सुत्केरी पशुलाई पाँच सय भत्ता

विपद् पीडित परिवारलाई राहत वितरण

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१८ मा पशु सुत्केरी भत्ता उपलब्ध गराउनुका साथै विपद् पीडितका परिवारलाई राहत पनि वितरण गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिका–१८ हेमन्तपुरमा आइतबार आयोजित कार्यक्रममा वडा कार्यालयले पहिलो पटक पशु सुत्केरी भत्ता वितरण शुरु गरेको हो ।

व्यावसायिक पशुपालनमा लागेकालाई प्रोत्साहनस्वरुप एक सुत्केरी पशुको रु ५०० का दरले भत्ता वितरण गरिएको वडाध्यक्ष माधव वलीले बताए ।

त्यसैगरी आगोलागीमा परी भवन पूर्ण क्षति भएका गेहेन्द्रबहादुर खत्री र राजकुमार नेपालीलाई जनही रु ३५ हजार, आंशिक भवन क्षति भएका टोपबहादुर वलीलाई रु २० हजार प्रदान गरिएको उनले बताए ।

त्यस्तै आगलागीबाट भवन क्षति भएका जपधन बुढामगर, सामान्य क्षतिभएका पहलवीर खड्का र देवबहादुर खड्कालाई जनही रु १५ प्रदान गरिएको बताइएको छ । रासस