संघर्षको रुपमा जनयुद्ध दिवस मनाउने क्रान्तिकारी माओवादीको तयारीः नवलपुरमा रातो मार्चपास

नवलपुरमा पहिचान र अधिकारबारे फागुन ४ गते अन्तरक्रिया

नवलपुर । नेकपा (क्रान्तिकारी माओवादी) ले जनयुद्ध दिवस फागुन १ गतेलाई देशैभरी संघर्षको उठान गर्ने हिसावले मनाउने तयारी गरेको छ ।

त्यसै क्रममा क्रान्तिकारी माओवादी नवलपुरले जनयुद्ध दिवसको दिन रातो मार्चपास गर्ने तयारी भैरहेको जनाएको छ ।

कावासोतीमा शविनार बसेको क्रान्तिकारी माओवादीका जनवर्गीय संगठनहरु र मोर्चाको संयुक्त बैठकले आगामी फागुन १ गतेको जनयुद्ध दिवसलाई रातो मार्च पाससहित संघर्ष उठानको दिनका रुपमा मनाउने निर्णय गरेको हो ।

क्रान्तिकारी माओवादी नवलपुर जिल्ला सेक्रेटरी उत्तम थापाको विशेष उपस्थितिमा शनिबार बसेको बैठकले आगामी कार्यक्रमाबारे समेत व्यापक छलफल गरेको बताइएको छ ।

क्रान्तिकारी माओवादीले जनयुद्ध दिवसकै सन्दर्भमा जिल्लाब्यापी रुपमा भित्ते लेखन, छलफल, वहस, संगठन निर्माण, र्याली, राज्यका गलत हर्कतको भण्डाफोर र विरोध जस्ता कार्यक्रमहरुलाई तिब्रता दिने निर्णय गरेको छ ।

देशभक्त गणतान्त्रिक मोर्चा नवलपुरका अध्यक्ष पिताम्बर तिवारीले जिल्लामा देखिएका नागरिकका समस्यालाई लिएर रातो मार्च पासको कार्यक्रमबाटै स्थानीय र केन्द्रीय सरकारको व्यापक भण्डाफोर र विरोध गर्ने तयारी भैरहेको बताएका छन ।

यस्तै, क्रान्तिकारी माओवादी सम्बद्ध कुमाल राष्ट्रिय मुक्ति मोर्चाको आयोजनामा पहिचान र अधिकार तथा यसका उपलब्धीका बारेमा आगामी फागुन ४ गते सरोकारवालाहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय पनि जवस मोर्चाले गरेको कुमाल मोर्चाका अध्यक्ष श्याम कुमालले बताए।

क्रान्तिकारी माओवादी नवलपुरको जनवर्गीय संगठन र मोर्चाका फ्र्याक्सन इन्चार्ज चेतनको अध्यक्षतामा बसेको बैठकमा दश भन्दा बढी जनवर्गीय संगठन तथा मोर्चाका इन्चार्ज तथा संयोजकहरुको उपस्थिति रहेको थियो । उक्त बैठकले कार्यक्रमको लागि आन्तरिक तयारीमा ध्यान दिएको खुल्न आएको छ ।