चिकित्सा विधेयक बलपूर्वक ल्याएको भन्दै कांग्रेस देशव्यापी विरोध प्रदर्शनको तयारीमा

केन्द्रीय समिति बैठक सम्पन्नः यस्ता छन्, निर्णयहरु

काठमाडौं । सरकारले संसदीय प्रणाली र परम्परा विपरित ढंगले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको निष्कर्ष निकाल्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले त्यसको विरोधमा देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले गरेका निर्णयहरु प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गर्दै कांग्रेसले सरकारी कदमको विरोधमा देशव्यापी प्रदर्शन गर्ने जनाएको हो ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा जारी गरिएको उक्त विज्ञप्तीमा सरकारले बलपूर्वक चिकित्सा विधेयक पारित गरेको ठहर गर्दै उक्त घटनाको विरोधमा माघ २१ गते ७७ जिल्लामै विरोध प्रदर्शन गर्ने निर्णय गरेको जनाइएको छ ।

कांग्रेसले आफ्नो प्रदर्शन विभिन्न ६ मुद्धामा केन्द्रीत रहने जनाएको छ । साथै उक्त विज्ञप्तीमा माघ २१ को प्रदर्शनमा व्यापक सहभागिताका लागि सबैमा हार्दिक अनुरोध समेत गरिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको सभापतित्वमा सम्पन्न बैठकमा नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, उपसभापति विजयकुमार गच्छदार, सह(महामन्त्री डा। प्रकाशशरण महतले आफ्नो बिचार राखेका थिए ।

त्यसैगरी बैठकमा केन्द्रीय सदस्यहरु— प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा। रामशरण महत, अर्जुननरसिंह के.सी., महेश आचार्य, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, अर्जुनप्रसाद जोशी, धनराज गुरुङ, सुरेन्द्रराज पाण्डे, गोविन्द भट्टराई, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, प्रवक्ता विश्वप्रकाश शर्मा र सरिता प्रसाईले पनि आगामि कार्यक्रम र पार्टीको अवस्थाका विषयमा आफ्नो धारणा राखेको जनाइएको छ ।

विज्ञप्तीमा कांग्रेस केन्द्रीय कार्यसमितिको अर्को बैठक २०७५ माघ १४ गते बस्ने बताइएको छ । महासमिति बैठकपछि कांग्रेस प्रमुख प्रतिपक्षका रुपमा आफुलाई प्रस्तुत गर्न खोजिरहेको देखिन्छ ।

यस्ता छन्, बैठकले गरेका निर्णयहरु

१. गत माघ ११ गते प्रतिनिधिसभामा संसदीय प्रणाली र परम्परा विपरित मर्यादापालक प्रयोग गरी बलपूर्वक विधेयक पारित गरिएको घटनालाई गम्भीरतापूर्वक लिंदै बैठक त्यसको घोर भत्र्सना गर्दछ ।

२. माघ २१ गते ७७ जिल्लामा विरोध प्रदर्शन आयोजना गर्ने, प्रदर्शन निम्न ६ मुद्दामा केन्द्रीत रहनेछ  ।

(क) संसदमा माघ ११ गते भएको बलजफ्तीको घटना, प्रधानमन्त्री स्वयंको अग्रसरतामा भएको सम्झौता विपरीत चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्य र डा। गोविन्द के।सी।को अनसनप्रति संवेदनहीन व्यवहार ।

(ख) स्वर्गीय नेताहरु— गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका जी।पी। कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई नामेट गर्न सरकारले गरेको दुष्प्रयास ।

(ग) प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थिति विना संवैधानिक परिषद्को बैठक राख्नु र नियुक्तिका केही निर्णय गर्नु लोकतान्त्रिक मूल्य र परम्परा विपरीतको घटना ।

(घ) देशव्यापी रुपमा बढेको हिंसा, हत्या र बलात्कार जस्ता जघन्य अपराध नियन्त्रण गर्न सरकार असफल देखिएको छ । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको ६ महिना पुगी सक्दा पनि दोषी पत्ता लगाउन त परै जावस् निर्दोषलाई दोषी ठह¥याउने षडयन्त्र ।

(ङ) महंगी, भ्रष्टाचार एवं अनेकौं जनविरोधी निर्णयहरू ।

(च) जिल्ला स्तरमा रहेका स्थानीय मुद्दाहरू ।