नागरिकमाथि प्रहरीको कुटाइः आन्द्रामा ५२ टाँका, पिसाबथैली फुट्यो

अस्पताल भन्छ–प्यांक्रियाज (फियो) पनि बिग्रेको छ

बाग्लुङ । प्रहरीको कुटाइबाट बाग्लुङ गलकोट–६ हरिचौरका ४० का वर्षीय सोमबहादुर बस्नेत गम्भीर घाइते भएका छन् ।

उनको आन्द्रामा ५२ टाँँका लगाउनुपरेको छ । पिसाबथैली फुटेको छ भने प्यांक्रियाज (फियो) बिग्रिएको छ ।

इलाका प्रहरी कार्यालय गलकोटअन्तर्गतको हटिया प्रहरीचौकीका प्रहरी हवल्दार प्रेम थापा र बुद्ध विष्टले बस्नेतमाथि निर्घात कुटपिट गरेका हुन् ।

स्थानीय सडक निर्माणका विषयमा आयोजित बैठकमा सहभागी भएर घर फर्कने क्रममा गत २९ पुसको राति ९ बजे बस्नेतमाथि कुटपिट भएको हो ।

बस्नेत केही महिनाअघि मात्रै थाइल्यान्डबाट घर फर्किएका हुन् । १२ वर्षदेखि थाइल्यान्डमा कार्यरत उनी बुबा बिरामी भएपछि घर आएका थिए । बुबाको स्वास्थ्य अवस्था सुधार भएपछि उनी केही महिनापछि थाइल्यान्ड फर्कने क्रममा थिए ।

जिल्ला प्रहरी कार्यालय बाग्लुङका अनुसार कुटपिटमा संलग्न दुई हवल्दार प्रेम थापा र बुद्ध विष्टलाई निलम्बन गरिएको छ । घटनमा दोषी देखिएकाले दुवैलाई निलम्बन गरिएको जिप्रका बाग्लुङका एसपी दीपक रेग्मीले बताए ।

‘प्रहरीबाट गल्ती भएकाले घटनामा संलग्न दुवै हवल्दारलाई कारबाही गरिसकिएको छ । घाइतेको उपचार भइरहेको छ,’ उनले भने ।

प्रहरीबाट भएको कुटपिटको विरोध गर्दै एसियाली मानवअधिकार आयोग (एएचआरसी) ले प्रतिवेदन सार्वजनिक गरेको छ ।

एडभोकेसी फोरमको हवाला दिँदै निकालेको प्रतिवेदनअनुसार बस्नेत सडक निर्माणको बैठकमा सहभागी भएपछि स्थानीय बिक्की गैरे र कृष्ण केसीसँगै घर फर्कँदै थिए । उनीहरू हटिया प्रहरीचौकी पुगे ।

चौकीमा रहेका एक प्रहरीसँग कुराकानी गर्ने क्रममा भनाभन सुरु भयो । प्रहरीले बस्नेतलाई अपशब्द बोल्दै गाली गरे । बस्नेतले प्रतिउत्तरमा के भन्न खोजेको भन्दै प्रहरीतर्फ प्रश्न तेस्र्याए ।

उत्तेजित बनेका प्रहरीले बस्नेतलाई बुटैबुटले पेटमा हिर्काउन थाले । शरीरका विभिन्न भागमा लट्ठी र बुटले कुटे । घाइते अवस्थाका बस्नेतले अत्यधिक पेट दुखेपछि स्थानीय आरती मेडिकलमा चेकजाँच गराए ।

मेडिकलमा भिडियो एक्स–रे गरियो । बस्नेतलाई पोखरास्थित फेवा सिटी अस्पताल लगियो । अस्पतालमा चेकजाँचपछि उनको आन्द्रा च्यातिएर पेटभित्रै तीन लिटरभन्दा धेरै रगत जमिसकेको चिकित्सकले बताए ।

५२ टाँकासहितको गम्भीर शल्यक्रियापछि अहिले बस्नेतको स्वास्थ्यमा सुधार आएको छ । यो समाचार आजकाृ नयाँ पत्रिकामा प्रकाशित छ ।