धनुषामा जन्ती बोकेको बसमा करेन्ट लाग्योः ९ को मृत्यु, ३० घाइते

घाइतेको उपचार हुँदैः विस्तृत विवरण आउँन बाँकी

धनुषा । बिवाहको जन्ती बोकेको बसले धनुषामा विद्युत प्रवाह भएको तार छुँदा करेन्ट लागेर बसमा सवार ९ जनाको मृत्यु भएको छ भने ३० जना भन्दा बढी घाइते भएको जनाइएको छ ।

आज साँझ सिन्धुलीको दुधौलीबाट जन्ती लिएर गएको ना ५ ख १७५२ नम्बरको बस धनुषाको सबैला नगरपालिका ४ स्थित बाल्टिया गाउँमा नजिक पुग्दा करेन्ट लागेर दुर्घटना भएको हो ।

करिब ५० जना जन्ती बोकेको उकत बसले सडक छेउमा रहेको विद्युतीय पोलको तार छुँदा एक्कासी करेन्ट लागेको थियो । प्रहरीका अनुसार उक्त पोलको तारमा ११ हजार भोल्टेजको करेन्ट प्रवाह हुने गरेको थियो ।

करेन्ट लागेर बस दुर्घटना भएको खबर प्राप्त हुदाँसाथ त्यहाँ प्रहरी पुगेर उद्धार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार अहिले घाइतेलाई उपचारको व्यवस्था गरिदैँछ ।

करेन्ट लागेर मृत्यु भएकाहरुको बारेमा अझै पहिचान हुन सकेको छैन । मृतकको शव अहिले पनि बसबाट ननिकालिएको बताइएको छ ।

त्यसैगरी बसमा जम्मा कतिजना थिए भन्ने विषयमा समेत अझै प्रष्ट जानकारी हुन सकेको छैन ।

घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । घटनाको विस्तृत विवरण आउन अझै समय लाग्ने प्रहरीको भनाइ रहको छ । फाइल तस्बिर