विद्युत महसुल नबुझाउने ९४६ ग्राहकको लाइन काटियो

चौध लाख जरिवाना असुल

महोत्तरी । नेपाल विद्युत् प्राधिकरण शाखा जलेश्वर वितरण केन्द्रले विद्युत् चोरी गर्नेबाट रु १४ लाख जरिवाना असुल गरेको छ ।

नेपाल विद्युत् प्राधिकरण शाखा जलेश्वर वितरण केन्द्रका प्रमुख माधवेन्द्र यादवका अनुसार चालू आवको ६ महीनामा जिल्लामा विद्युत् चोरी गर्ने १५८ जनालाई कारवाही गरी सो रकम असुल गरिएको हो ।

जिल्लाको विभिन्न ठाउँमा हुकिङ, मिटरमा गडबडी र अन्य विभिन्न तरिकाले विद्युत् चुहावट (चोरी) गर्दै आएका व्यक्तिलाई वितरण केन्द्रबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीसँगै खटिएका विद्युत् चुहावट नियन्त्रण (प्राविधिक कर्मचारीसहितको) टोलीले पक्राउ गरी कारवाही गरेको हो ।

विद्युत् महसुल नबुझाउने ९४६ ग्राहकको लाइनसमेत काटिएको छ । जलेश्वर वितरण केन्द्रअन्तर्गत ५५ हजार ६७२ ग्राहक छन् । रासस