संसदवादी दलहरुमा विचल्ली, दजनौंले गरे पार्टी परित्यागः क्रान्तिकारी माओवादीमा प्रवेशको क्रम जारी

सुर्खेतमा युवाहरुको भेलाः अनिलको नेतृतवमा १५ सदस्यीय कमिटि निर्वाचित

सुर्खेत । पछिल्लो चरणमा विभिन्न पार्टी परित्याग गरी नेता, कार्यकर्ताहरु क्रान्तिकारी माओवादीमा प्रवेश गर्ने क्रम बढि रहेको छ ।

सत्तारुढ डबल नेकपा र प्रतिपक्ष नेपाली कांग्रेस लगाएतका पार्टीहरु पुरानो भएको र त्यहाँबाट देश र जनताको सपना पुरा नहुँने भन्दै दजनौं युवाहरुले पार्टी परित्याग गरेका हुन ।

विभिन्न पार्टीबाट विद्रोह दर्जनौं सक्रिय युवाहरु आफ्नो पार्टीमा प्रवेश गरेको भन्दै नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य तथा प्रदेश नम्बर छ का कार्यवाहक सेक्रेटरी कृष्ण गुरुङले बताएका छन ।

पार्टीमा प्रवेश गर्ने युवाहरुले सत्तारुढ नेकपा जनतामाझ बदनाम हुँदै गएको र त्यहाँबाट जनताको अधिकार स्थापित गर्न नसकिने बताएका छन ।

उनीहरुले प्रतिपक्ष कांग्रेसले पनि सत्ताँका गलत कामहरुको विरोध गरेको जस्तो गरे पनि खानेबेलामा प्रतिपक्षको भूमिका समेत बिर्सेर भाग तान्ने प्रवृति पालेको बताएका छन ।

उनीहरुले भनेका छन–‘अब देशमा अर्को नयाँ खालकको संघर्षको विकास गरी जनविरोधीहरुलाई धूलो चटाएर खेदाउने बेला आएको छ । वास्तविक जनताको राज्यसत्ता स्थापना गर्ने उद्देश्यमा हुने आन्दोलनमा अब हामी युवाहरुले भुमिका खेल्नु पर्छ, हामी त्यसका लागि तयार छौं ।’

यसरी दजर्नौ उर्जाशिल युवाहरु पार्टीमा प्रवेश गर्ने क्रम बढेंसँगै प्रदेश नम्बर छ मा क्रान्तिकारी माओवादीको प्रभाव बढ्दै गएको पार्टीका केन्द्रीय सदस्य तथा दैलेख जिल्ला इन्चार्ज दिपक शाहीले बताएका छन ।

देशभक्त जनगणतान्त्रीक मोर्चाको प्रदेश सेक्रेटरी समेत रहेका शाहीका अनुसार अहिले पार्टी, मोर्चाको संगठन विस्तारको काम भैरहेको छ ।

सुर्खेतमा मोर्चाको राष्ट्रिय सम्मेलनको तयारी र प्रचारका लागि भित्ते लेखन लगाएतका कामहरु समेत भैरहेको उनले बताएका छन ।

त्यसैगरी क्रान्तिकारी माओवादीले सुर्खेतमा हिजो भव्य रुपमा युवा संगठनको जिल्ला भेला गरेको बताइएको छ ।

विभिन्न पार्टीका प्रवेश गरेका युवाहरुको समेत उपस्थितिमा क्रान्तिकारी युवा लिग, नेपालको सुर्खेत जिल्ला भेला सम्पन्न भएको हो ।

उक्त भेलाले अनिलको अध्यतामा क्रान्तिकारी युवा लिंग सुर्खेतको १५ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । भेलालगत्तै नव निर्वाचित समितिको वैठक बसी कामको बाँडफाँड गरेको समेत गरेको छ ।

संगठनको बैठकले पार्टी र मोर्चाले अघि सारेको संघर्षका कार्यक्रमहरुलाई सुर्खेतको विशिष्टतामा अघि बढाउने र दलाल, तस्कर तथा राष्ट्रिघातीहरुका विरुद्ध संघर्षमा उत्रिनेसम्मको निर्णय गरेको बताइएको छ ।

क्रान्तिकारी माओवादीका अनुसानर विभिन्न पार्टी परित्याग गरी युवा संगठनमा जोडिनेमा विष्णुबहादुर रावल, मिलन शाही, पदम चन्द्र, खेमराज कँडेल, लक्ष्मीप्रसाद आचार्य, लक्ष्मी कँडेल, चन्द्र कुानर थापा, सन्तोष पौडेल, धनबहादुर रोकाया र मोहन सुनार लगायत दर्जनौ रहेका छन ।

नव प्रवेशीहरुलाई उक्त भेलामा नेकपा (क्रान्तिकारी माओवादी) नेताहरुले भव्य स्वागत गरेका थिए । उक्त कार्यक्रममा प्रदेश सेक्रेटरी कृष्ण गुरुङ, नेता दिपक शाही, सुर्खेत पार्टी सेक्रेटरी लगायतको उपस्थिति रहेको थियो ।