उच्च हिमाली क्षेत्रहरु सेताम्य भएः राज्यको खोजिमा स्थानीय,जनजीवन कष्टकर

सरकारसँग न्यानो कार्यक्रमको माग

हुम्ला । मुलुकका उच्च हिमाली क्षेत्रका स्थानीयहरु निरन्तर परिरहेको हिमपात र बर्षाका कारण चिसो बढेपछि सास्ती भोगिरेहेका छन । सोमबारदेखि मुलुकका केही हिमाली जिल्लाहरुमा भएको भारी हिमपातले जनजीवनमा प्रभाव पारेको हो ।

हिमपालका कारण उच्च हिमाली जिल्लाहरु हुम्ला, बाजुरा, मुगु, डोल्पा लगाएतका क्षेत्रका वासिन्दाहरु चिसोले कठ्ग्रीने सम्भावना बढेको भन्दै त्यहाँ सरकारले जनताको लागि न्यानो कार्यक्रम चलाउँनुपर्ने आवाज नागरिकको तहबाट आएको छ ।

हिमाली क्षेत्रका नागरिकहरु चिसोको समस्यामा कठित जीवन चलाउँदै आएको भन्दै त्यहाँ राज्यले प्रभावकारी कार्यक्रम चलाउँनु पर्ने माग स्थानीयवासीहरुले गर्दै आएका छन । स्थानीयको समस्यामा सरकारको ध्यान नपुगेको भन्दै उनीहरु दुखेसो समेत व्यक्त गर्ने गर्दछन ।

हिमाली क्षेत्रमा चिसोका बेला बाहिर निस्कन समेत समस्या भएको हुनाले त्यहाँ खाद्यान्न तथा न्यानो लत्ताकपडा वितरण जस्ता कार्यक्रम चलाउनुपर्नेमा सामाजिक अगुवा र स्थानीय राजनीतिक दलका नेताहरुको भनाई रहेको छ ।

माओवादी राजनीतिमा जोडिएका हुम्लाका स्थानीय युवा महेश रोकायाले हरपलसँग भने–‘सरकार जनताको समस्यामा देखिरहेको छैन, उ सिंहदरबारमा मस्त निदाएको छ । यहाँ मानिसलाई जीविका चलाउँनै मुस्किल भएको छ, हामीले यहाँ राज्यको उपस्थिति खोजिरहेका छौं । खै कहाँ छ राज्य ?’

हुम्ला र बाँजुराको उच्च क्षेत्रमा त अहिले हिउँ जमेर चारैतिर सेताम्य भएको छ । त्यहाँ मानिसहरु रातदिन घरभित्रै थुनिएका छन । बाहिर अत्याधिक चिसो भएकाले खाद्यान्न लगायतका महत्वपूर्ण सामाग्रीको जोहो गर्न समेत उनीहरुलाई समस्या भएको बताइएको छ ।

त्यस्तै त्यहाँ चिसोका कारण घरपालुवा जनावर समेत गोठमै बन्द रहेका छन । कतिपय स्थानमा भने हिमबर्षाले खेतिपाति राम्रो हुने ठानिएपनि चिसोका कारण बालबालिका, बृद्ध र अशक्तहरुलाई अत्यन्त मुश्किल भएको बताइएको छ ।

अहिले मुलुकका लेकाली बस्ती तथा उच्च हिमाली जिल्लाहरु सेताम्य भएका छन् । हुम्लाको सिमकोटभन्दा उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको छ । उक्त क्षेत्रको तापक्रम माइनसमा पुगेको बताइएको छ ।

हुम्लाको उत्तरी क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोटलगायतका गाउँमा अहिले आवतजावत बन्द भएको छ । हिमपातका कारण नाम्खा गाउँपालिकाको लिमी र मुचु लगाएतका क्षेत्रमा अहिलेसम्म झण्डै दुई फिट जति हिउँ जमेको बताइएको छ ।

त्यस्तै बाँजुरामा पनि सोमबार मध्य रातिबाट हिमपात भएको छ । त्यहाँका हिमाली गाउँपालिकाको रुगीन, बिच्छया, गौमुल गाउँपालिकाको दहकोट, मानाकोट, खप्तड छेडेदह गाउँपालिकाको काँडा, आटीचौर, त्रिवेणी नगरपालिकाको कैलाशमाडौँ, बूढीनन्दा नगरपालिकाको पाण्डुसैन, बडीमालिकाको डम्कने, रजातोली, जुगाडासहितका दर्जन बढी लेकाली भेगमा हिमपातले जनजीवन कष्टकर भएको छ ।

लेकमा हिउँ परेका कारण मार्तडी कोल्टी सडकमा चल्ने ट्र्याक्टर र जीप सेवासमेत बन्द भएको भएको बताइएको छ भने स्थानीय बजारसमेत बन्द भएकाले खाद्यान्न लगाएतका सामाग्रीको अभाव भएको बताइएको छ ।

चिसोले बालबालिका, महिला तथा सुत्केरीहरुलाई समस्या हुने भन्दै त्यहाँका स्थानीयहरु चिन्ता व्यक्त गर्दै आएका छन । हिमपातको कारण कतिपय विद्यालयको पठन पाठनसमेत अबरुद्ध भएको छ । एसइई परीक्षाको तयारीमा रहेका विद्यार्थीहरु बढि चिन्तित देखिन्छन ।

बिरामी हुँदा औषधि सम्म पाउँने अवस्था नभएको भन्दै स्थानीयवासीहरुले सरकारसँग उच्च हिमाली क्षेत्रमा न्यानो कार्यक्रम चलाउँनु पर्ने आवाज उठाउँदै आएका छन । आफ्नो मागमा सरकारको भने ध्यान नगएको उनीहरुको गुनासो छ ।