गरीब वस्तीका नागरिकहरु आर्सेनिकयुक्त पानी पिउन बाध्य: के हेर्दैछ स्थानीय सरकार !

स्वच्छ खानेपानी अभावले बालबालिका बिरामी भएको गुनासो

बाँके । बाँकेको नेपालगंज उपमहानगरपालिका २३ भज्जुपूर्वा गाउँका बसिन्दा अहिले पनि आर्थिक अभावका कारण २० फुटमा जडान गरिएका धाराको पानी पिउन बाध्य भएको बताएका छन् ।

नेपाल एक्रा एजुकेशनल फाण्डेशनले भज्जुपूर्वाका स्थानीयहरुसंग गरेको छलफलमा स्थानीय रियाज अन्सारीले आर्थिक अभावका कारण आर्सेनिकयुक्त पानी पिउन बाँध्य भएको बताएका हुन ।

उनले गाँउमा विगतमा केही संस्थाहरुले धारा जडान गराए पनि पानीको गुणस्तरमापन नगरी २० फूटमा धारा जडान गरेकोले उक्त पानीबाट हरेक वर्ष बालबालिकाहरु बिरामी पर्ने गरेको बताए ।

भज्जुपूर्वाका रहिसले स्थानीय सरकार बने पनि आफूले अनुभूति गर्न नपाएको बताए । उनले वडाबाट प्रदान गर्ने धारा समेत २० फूटमा जडान गर्ने गरिएकोले उक्त धाराको पानी समेत स्वास्थ्यका लागि हानीकारक रहेको बताए ।

छलफलमा सहभागि रहेका मुस्लिम समुदायका मानिसहरुले आफूहरुका लागि स्वच्छ खानेपानीको व्यवस्था गरिदिन नेपाल एक्रा एजुकेशनल फाउण्डेशनसंग माग गरेका थिए ।

एक्राले पानीको समस्याको सामना गरीरहेका व्यक्तिहरुका घरमा धारा जडान गर्दै आएको छ । एक्राले बाँकेको जानकी गाँउपालिकामा ५१, डुडुवागाँउपालिकामा १७ घरमा धारा जडान गरेको कार्यक्रम संयोजक पवन सिहले बताए ।

नेपाल एक्रा एजुकेशनल फाउण्डेशनका अध्यक्ष शक्ति कुमार बंशकारले मानव बिकास पछाडि पर्नुमा सुरक्षित पानी र सरसफाई सेवाको अभावका कारण मानिसहरुको अकालमा ज्यान गएको बताउदै स्वच्छ पानीका लागि पहल गर्ने बताए ।

उनले स्थानीय निकायसंग समन्वय गरेर भज्जुपूर्वामा केही महिना भित्र नै धारा जडान गर्ने विश्वास व्यकत गरेका छन । धारा जडान हुने भएपछि स्थानीयवासीहरु खुशी भएका थिए ।