सामन्तवाद परस्त मिडियाहरु क्रान्ति र संघर्षबारे समाचारहरु लख्दैनन्ः मोहन बैद्य किरण

जनपक्षिय मिडियाहरुको केन्द्रीकरणमा जोड

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्य किरणले सामन्तवादबाट परिचालित मिडियाहरुले माओवादी आन्दोलन, जनताको संर्घष र जनअधिकारका विषयमा उठेका आवाजहरु सम्प्रेषण गर्न नसक्ने ठोकुवा गरेका छन् ।

शनिवार पार्टी निकटका मिडियाका सञ्चालक, सम्पादकहरुसँगको एक अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममा महासचिव किरणले त्यस्तो बताएका हुन् ।

महासचिव किरणले कतिपय ठूला भनिने मिडियाहरु दलाल संसदीय व्यवस्थाबाट सञ्चालित भएको हुनाले उनीहरु क्रान्तिकारी आवाजलाई सम्प्रेसण गर्ने भन्दापनि त्यसलाई निस्तेज पार्न भुमिका खेल्ने गरेको भन्दै त्यस्ता मिडियाहरुको प्रवृतिबारे प्रष्ट पारें ।

उनले भने–‘संसदीय व्यवस्था स्विकार गर्नेहरुले बिग मिडियाहरुमा सत्ताँको भाषा रटान गर्ने खालको गठबन्धन बनाएका छन् । राज्यले त्यसरी संरक्षणको घेरामा राखेका मिडियाहरु हामी, त्यो व्यवस्था विरोधीहरुको समाचार दिन चाहदैँनन् ।’

उनले जनताको संघर्ष र क्रान्तिकारी आवाजलाई मिडियामा ठाउँ नदिने मिडियाहरुलाई साम्राज्यवाद तथा विस्तारवाद परस्त मिडियाको संज्ञा दिदैँ त्यसका विरुद्ध जनपक्षिय मिडियाहरुको बलियो नेटवर्क बनाउनुपर्ने बताए ।

पछिल्लो चरणमा साना लगानीका मिडियाहरु, अनलाईनहरु र केहि अरु मिडियाहरुमा जनताका आवाज राम्रैसँग समेटिएको भएपनि जनपक्षिय मिडियाहरुको केन्द्रीकरण बिना क्रान्ति र संघर्षका आवादहरु व्यवस्थित रुपमा बुलन्द नहुने भएकाले त्यसमा ध्यान दिन उनले निर्देशन समेत दिए ।

जनपक्षिय मिडियाको संख्यामा वृद्धी भएको भन्दै उनले भने ‘हाम्रा मिडियाहरुबाट क्रान्तिकारी आवाजहरु, व्यवस्था विरोधी आवाजहरु समाचारका माध्यमबाट आउन थालेपछि सत्ताँधारीहरु आत्तिएका छन । उनीहरुले त्यसै कारणले विभिन्न प्रकारका ऐनहरु लगाएर मिडियालाई आफ्नो नियन्त्रणमा राख्न खोजेको देखिन्छ ।’

उनले मिडियाहरु मार्फत सरकारको भण्डाफोर कम्युनिस्टहरु काम गर्दैनन्, झुट्टो बोल्छन भन्ने कोणबाट व्यापक भएको भएपनि सत्ताँमा रहेकाहरु नक्कली कम्युनिस्ट हुन, त्यहाँबाट जनताको आशा र सपना पुरा हुँदैन र क्रान्तिकारी आशावादको विकास गर्नु जरुरी छ भन्ने ढंगले भण्डाफोर जान नसकेको औल्याए ।

महासचिव किरणले पार्टी आन्दोलन र जनताका आवाजहरुलाई धेरै भन्दा धेरै समेट्न निर्देशन दिदैँ पार्टी निकटका सबै मिडियाहरुको मोर्चा निर्माण गर्न र त्यसलाई आन्दोलनको हितमा उपयोग गर्न सुझाव समेत दिए ।

राजनीतिक नेताहरुमा जस्तै पत्रकारीतामा पनि इमान्दारीता र दक्षता आवश्यक भएको र त्यसका लागि इमान्दारीताको विकास गर्दै दक्षता अभिवृद्धीका लागि विभिन्न खाले कार्यक्रमहरु समेत चलाउनु पर्नेमा जोड दिए ।

उनले स्थानीय, दुर्गम क्षेत्रका र जनताको जनजिविका, जनतन्त्र र राष्ट्रियतासँग जोडिएका विषयमा समाचारहरु लेख्न र त्यसलाई चारैतिर पुर्याउने विषयमा सोच्न मिडिया सञ्चालकहरुलाई सुझाव समेत दिए ।

पार्टीद्धारा सञ्चालित मिडियाहरुलाई मात्र पार्टीले ध्यान दिने गरेको भन्नेबारेमा मिडिया सञ्चालकहरुबाट गुनासो आएपछि त्यसको जवाफ दिदैँ उनले भन्–‘सबैतिर हाम्रो ध्यान नपुगेको होला, तपाईहरुले यो छुटेको विषयमा जानकारी गराउँनु भयो, त्यसको लागि खुशी लागेको छ, अब हामी हामी निकटका सबै मिडियालाई साझाँ रुपमा कसरी हेर्ने भन्ने बारे धारणा बनाउँछौं । हामी यो विषयलाई सुधार गछौं ।’

अन्तरक्रियासँग क्रान्तिकारी माओवादी सम्बद्ध मानिसहरुले चलाएका मिडियाहरु र जनपक्षिय धारका मिडिया सञ्चालकहरुलाई जोडेर पार्टीको प्रचार आन्दोलनलाई व्यवस्थीत गर्नका लागि मिडिया सञ्चालनको लागि केही मापदण्ड समेत पार्टीले तयार गर्ने भएको छ ।

किरणले पार्टीको अभियान र पत्रकार संगठनका अन्य कार्यक्रमका साथ साथै संगठन विस्तारमा विशेष ध्यान दिन पत्रकारका नेताहरुलाई सुझाव पेश गरेंका थिए ।

उक्त कार्यक्रममा पार्टीको स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख रामसिंह श्रीसले देश र जनताको हितमा पत्रकारीता गर्नुपर्नेमा जोड दिएका थिए ।

नेता श्रीसले पार्टीका आन्तरिक समाचारहरु अहिले अरु मिडियाले नलेखेको उल्लेख गर्दै आन्तरिक मिडियाको मोर्चालाई व्यवस्थित गरेमा सबै विषयहरु ठिक ढंगले उठान हुने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य कुमार शाह, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत, सचिव रामकुमार श्रेष्ठ, कार्यालय सदस्य लोकराज जैसी, प्रकाशन विभाग सदस्य चुडामणी श्रेष्ठ लगायतको समेत उपस्थिति रहेको थियो ।उक्त अन्तरक्रियामा करीब दुई दर्जन बढि मिडियाका सञ्चालक तथा सम्पादकहरु सहभागिता रहेको थियो ।