आयो यस्तो निर्णयः शैक्षिक प्रमाणपत्र धितो, पाँच लाखसम्म ऋण

अपाङ्गलाई परिचयपत्र वितरण

भक्तपुर। भक्तपुर नगरपालिकाको चौँथो नगरसभाले शैक्षिक ऋण दिनेसम्बन्धी निर्देशिका २०७५ सर्वसम्मतिले पारित छ ।

स्थायी बसोबास गर्ने गरीब, जेहेनदार विद्यार्थीलाई शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखी रु पाँच लाखसम्मको ऋण दिने निर्णयलाई नपाले सर्वसम्मतिले पारित गरेको हो ।

निर्देशिका अनुसार विधायन समितिका संयोजक हरिराम सुवालले नपाको बजेटलाई मध्यनजर राखी विद्यार्थीलाई ऋण दिने प्रावधान राखिएको र किस्ताबन्दीमा ऋण असुल गर्ने व्यवस्था गरिएको जानकारी दिए ।

नगरप्रमुख सुनिल प्रजापतिले शैक्षिक ऋण दिनेसम्बन्धी निर्देशिका २०७५ स्थानीय तहको निर्वाचनको दौरानमा घोषणापत्रमा उल्लेख भएअनुसार नगरका गरीब तथा जेहेनदार विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्न सहयोग गर्ने उद्देश्यका साथ ल्याइएको बताए ।

उनले भने–“ऋण दुरुपयोग हुनेप्रति सचेत हुँदै आवश्यक प्रक्रिया अपनाई ऋण असुलउपर गर्ने व्यवस्था निर्देशिकामा गरिएको छ ।”

निर्देशिका पारित गर्नुअघि नगरसभा सभासद् जीतेन्द्र मुनंकर्मी, हरिरत्न गोर्खाली, गोविन्द दुवाल, सिद्धिराम अवाल, बलराम न्हिसुतु, पुर्णगोपाल राजचल, श्यामसुन्दर मातां, रञ्जना त्वाती र राजेन्द्र माकलगायतले सुझाव दिएका थिए ।

उनीहरुले शैक्षिक ऋण दुरुपयोग हुनेप्रति सचेत हुनुपर्ने, ऋण चुक्ता गर्ने समायावधि थप्नुपर्ने, पुस्तौँदेखि नगरमा बसोबास गर्दै आएका स्थायी नगरवासीलाई मात्र ऋण दिनुपर्ने, ऋणको ब्याज लाग्ने समय स्पष्ट हुनुपर्नेलगायतका सुझाव दिए ।

त्यसैगरी भक्तपुर नगरपालिकाको चौँथो नगरसभाले अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरणसम्बन्धी कार्यविधि २०७५ समेत पारित गरेको छ ।

अपाङ्गता भएका नगरवासीलाई सहज ढङ्गले परिचयपत्र वितरण गर्ने उद्देश्यले कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याइएको विधायन समितिका संयोजक सुवालले बताए । रासस