देशमा सार्वभौम राज्यसत्ता हैन्, पार्टी सत्ता चलेको छः प्रा.डाक्टर सुरेन्द्र केसी

‘अहिलेको व्यवस्था लोकतान्त्रिक सामन्तवाद हो’

काठमाडौं । मुलुकमा सर्वभौमिकता हराएको टिप्पणी गर्दै प्राध्यापक डाक्टर सुरेन्द्र केसीले वर्तमान अवस्थामा मुलुकमा सार्वभौम राज्यसत्ता नभएर पार्टी सत्ता चलेको बताएका छन् ।

आज सुदर्शन अर्याल ‘सितल’द्धारा लिखित पुस्तक ‘लोकतान्त्रिक सामन्तवाद’को विमोचनका लागि राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै डा. केसीले त्यस्तो बताएका हुन् ।

अहिले मुलुकमा विभिन्न खालका समस्याहरु देखिएको बताउँदै उनले त्यसमा राज्यले समाधान दिन नसकेको आरोप लगाएका छन ।

उनले भने–‘मुलुक अत्यन्त नाजुक स्थितिमा छ, यसको जिम्मेवार अरु कोही होईनन्, वर्तमान राजनीतिक दलहरु नै हुन ।’

जनताको जनजीवन अत्यन्त कष्टकर रुपमा बितेको भएपनि राज्यले त्यतातिर ध्यान नदिएको कारण सार्वभौम राज्यसत्ताँ हराएको जस्तो आफुलाई लाग्ने गरेको उनले बताए । २०४६ सालपछि देश निकै कमजोर बनेको उनको भनाई छ ।

उनले भने–‘हाम्रो देशमा सार्वभौम राज्यसत्ता छैन्, यहाँ पार्टी सत्ता चलेको छ, त्यही भएर जनताले रुँदै जीवन बिताउनुपरेको छ ।’

जनताको जीवनमाथि खेलवाड गरेर राजनीतिक दलको आवरणमा लोकतन्त्र देखाउँदै केही नेताहरु मोटाएको भन्दै उनले समाज परिवर्तनको नामम जनतामाथि धोका भएको बताए ।

अहिले आएको व्यबस्थालाई लोकतान्त्रिक सामन्तवाद भन्दै उनले भने–‘सत्ताँको आचरणमा कुनै रंग, ढंग देखिँदैन । यो व्यबस्था कसरी लोकतन्त्र हुन्छ ? सत्ताँ र त्यो पदको ठूलो मुल्य छ, जहाँ ठूलो बलिदानी लुकेको छ, यो कुरा अब कस्ले बुझिदिने ?’

उनले कागजमा मात्र लोकतन्त्र आएको तर जनताको जनजिविका, जनताका दुःख, अभाव र गरिवीहरुमा लोकतन्त्र नपुगेको बताए । उनले भने–‘जनताले खाए वा भोकै छन् ? दुःख–सुख के छ ? सोध्ने लोकतन्त्र हामीले कल्पना गरेका थियौं, तर यहाँ तलोकतान्त्रिक सामन्तवाद आयो।’

मुलुकमा खुल्ला भष्ट्रिकरण भएको र राज्य स्वयम् त्यसको संरक्षणमा लाग्नु र सामन्तवादी प्रवृतिको शासन–सत्ता सञ्चालन नहुनु नेपालीहरुका लागि बिडमबनाको विषय बनेको समेत टिप्पणी गरे ।