आज बिहानै पर्वतमा बस दुर्घटनाः सातको मृत्यु, ३४ बढि घाइते, चारको अवस्था गम्भीर

पाँच जना मृतकको सनाखत, दुईको अहिचान हुन सकेन

पर्वत । आज बिहान म्यादीको बेनीबाट छुटेको एउटा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने ३४ जनाघाइते भएको प्रहरीले बताएको छ ।

प्रहरी श्रोतका अनुसार उक्त दुर्घटना पर्वतको कुश्मा नगरपालिकास्थित मालढुंगा भन्ने ठाउँमा भएको हो ।

बेनीबाट छुटेको ग १ ख ६१०८ नम्बरको उक्त दुर्घटना भएको बसमा के कति मानिसहरु सवार थिए भन्ने अझै खुल्न नसकेको भएपनि ठूलो मानविय क्षति भएको र धेरै मानिसहरु घाइते भएको जानकारी प्राप्त भएको छ ।

प्रहरीका अनुसार धेरै मानिसहरु घाइते भएको र उनीहरुलाई उपचारका लागि अहिले अस्पताल पुर्याउने काम भएको छ । गम्भीर घाइते चार जनालाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं उुर्याइएको बताइएको छ ।

अन्य १० जना घाइतेलाई सामान्य उपचारपछि थप उपचारका लागि पोखरा पठाईएको र बाँकी २० घाइतेको धौलागिरी अञ्चल अस्पतालमा अहिले उपचार भैरहेको प्रहरीले बताएको छ ।

त्यसै गरी दुर्घटनाबाट मृत्यु भएका सात जना मध्ये दुईको अझै पहिचान हुन सकेको छैन भने पाँच जनाको सनाखत भएको छ। अन्यको विषयमा जानकारी लिने काम भैरहेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा पर्वतको जलजला गाउँपालिका–८ का एकै परिवारका सेते परियार र टीका परियार, म्याग्दीको पाखापानीका राजेश पुन र विषमाया पुन, बाग्लुङ नगरपालिका–४ खुँडुलेका शान्ति केसी रहेका छन्।

त्यहाँ थप उद्धारको लागि एम्बुुलेन्स र प्रहरी टोलि परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले बताएको छ । बस नियन्त्रकण बाहिर गएपछि दुर्घटना भएको अनुमान गरिएको छ ।