पर्यटक भिसामा आएका विदेशीहरू गैरकानुनी धन्दामाः धर्मिक प्रचारदेखि देशव्यापारमा संलग्न

विदेशीका गतिविधि माथि बढ्यो निगरानी

काठमाडौं । व्यापार व्यवसाय र मजदुरी गर्न, आफूले गरेको कसूरबाट बच्नदेखि धर्म प्रचारसम्मका धन्दा गर्न कैयौँ विदेशी नागरिकहरू नेपालमा आएर गैरकानूनी रूपमा बस्ने गरेको पाइएको छ।

अधिकारीहरूका अनुसार विदेशी नागरिकमाथि निगरानी गर्ने बलियो संयन्त्र नहुँदा पर्यटक भिसामा नेपाल प्रवेश गरेका उनीहरू गैरकानुनी रूपमा बस्ने र गैरपर्यटकीय गतिविधि गर्ने गर्छन्।

पछिल्ला वर्षहरूमा यस्ता गतिविधि थप बढेको भन्दै विज्ञहरूले विदेशीलाई भिसा दिने प्रणालीमै कडाइ गर्नुपर्ने सुझाव दिएका छन्।

नियम अनुसार पर्यटक भिसामा आएका विदेशीहरूले बढीमा १ सय ५० दिनसम्म नेपालमा बस्न पाउँछन्। अमेरिकी नागरिकका लागि भने हाल १ सय ८० दिनसम्म बस्न पाउने सुविधा दिइएको छ।

तर कतिपय विदेशी नागरिकहरू पर्यटक भिसाका लागि तोकिएको समय सकिएपछि पनि लामो समयसम्म नेपालमै बस्ने गरेको अधिकारीहरू बताउँछन्।

त्यसरी तोकिएको समयभन्दा बढी नेपालमा बसेको भन्दै सन् २०१८ मा मात्र अध्यागमन विभागले ५ सय ६४ जनालाई निष्कासन गरेको छ।

सोही वर्ष थप १ सय ३७ जनालाई विभिन्न मुलुकमा गरेको कसुरबाट बच्न नेपाल आएको भन्दै फिर्ता पठाइएको अधिकारीहरू बताउँछन्।

उक्त अवधिमा ६८ मुलुकका नागरिकलाई निष्कासन गरिएको अधिकारीहरूले जानकारी दिए। त्यसमध्ये सबैभन्दा धेरै ३ सय ७३ जना चिनियाँ नागरिक थिए।

चिनियाँ नागरिकहरू मध्ये अधिकांश नेपालमा सञ्चालित विभिन्न चिनियाँ आयोजनाहरूमा कार्यरत पाइएको अध्यागमन अधिकारीहरू बताउँछन्।

उनीहरूका अनुसार ती चिनियाँ कामदारले श्रम स्वीकृती नलिइकन पर्यटक भिसामा काम गरेको पाइएको थियो।

नेपालमा काम गर्न आउने चिनियाँ नागरिकको संख्या धेरै हुनुमा विशेषगरि नेपालमा शुरु भएका जलविद्युत आयोजनाहरूका सुरुङमा काम गर्ने दक्ष जनशक्ति नहुनु मुख्य कारण रहेको अधिकारीहरू बताउँछन्।

उनीहरूका अनुसार सुरुङमा काम गर्न आएका चिनियाँहरूलाई पर्यटकका रूपमा नै कम्पनीहरूले ल्याउँदा समस्या देखिएको हो।

विभागका निर्देशक विष्णुहरि उपाध्याय भन्छा–‘घुम्नकै लागि आएका मान्छे बढी समय बस्दैनन्। जो मान्छे घुम्न आउने भनेर कागजमा घोषणा गर्छन् तर उसको उद्देश्य अर्कै छ भने त्यस्ता मान्छे धेरै बस्ने गरेका छन्।’

उनले पछिल्ला वर्षहरूमा पर्यटक भिसामा आएर अन्य गतिविधिमा संलग्नहरू माथि निगरानी गर्न थालिएको दाबी गरे।

उपाध्यायले भने–‘पर्यटकीय प्रयोजनभन्दा पनि गैर पर्यटकीय प्रयोजनमा उनीहरूको भिसालाई प्रयोग गर्ने मान्छे धेरै देखिएका छन्। त्यसमा पनि व्यापार गर्ने र काम गर्ने दुईखाले प्रवृत्ति धेरै देखिएको छ।’

तोकिएको भन्दा बढी समय नेपालमा बस्ने विदेशीहरूले अध्यागमन अधिकारीहरूलाई भने आफ्नो उद्देश्यबारे यथार्थ जानकारी नदिने गरेको उनले बताए।

तर अनुसन्धानका क्रममा कतिपय विदेशीहरू गैरकानुनी क्रियाकलापका लागि समेत नेपाल आउने गरेको पाइएको अधिकारीहरू बताउँछन्।

मध्य एशिया, चीन र अफ्रिकाबाट पर्यटक भिसामा नेपाल आएका केही महिलाहरू देहव्यापारमा संलग्न भएको कतिपय प्रहरी अधिकारीहरूको भनाइ छ।

गत वर्ष निष्काशितमध्ये पाँजनालाई धर्म परिवर्तनको अभियोग लगाइएको थियो। यसरी बस्ने अधिकांश विदेशी नागरिकले नेपालको कानुन थाहा नभएको, राहदानी हराएको, रकम नभएको जस्ता बहाना बनाउने गरेको अध्यागमन अधिकारीहरू बताउँछन्।

विभागका अनुसार विगत ६ वर्षमा नेपालबाट २ हजार १ सय २५ जना विदेशीलाई निष्काशन गरिएको छ। विज्ञहरू भने नेपालको भिसा प्रणालीका कारण यस्तो भएको बताउँछन्।

एकजना पूर्व गृहसचिव सूर्य सिलवालले भने,‘ूहामीकहाँ अन अराइभल भिसा दिने चलन छ। लगभग सबैजसो देशलाई हामी दिन्छौँ। जोसँग हाम्रो दोहोरो कूटनीतिक सम्बन्ध छ वा जसले हामीलाई पनि अन अराइभल भिसा दिन्छ, त्यसलाई हामीले दिने हो वा हाम्रो सहयोगी मुलुकलाई दिने हो नि ।’

उनले यो प्रणालीका कारण जस्ता मान्छे पनि नेपालमा आउने र जस्तो सुकै गतिविधिमा संलग्न हुनसक्ने खतरा रहने बताए।

सिलवालले भने, ‘हामीलाई त सम्बन्धित देशको दूतावासबाट भिसा दिनुपर्छ। त्यसो भयो भने पो सूचना आदानप्रदान हुन्छ। व्यक्तिबारे छानबिन हुन्छ। हामीले त्यसो गर्न सके मात्र यस्ता गतिविधि कम होलान्।’

नेपालले हाल सिरिया, अफगानिस्तानजस्ता द्धन्दग्रस्त १२ वटा मुलुकबाहेकका देशका नागरिकलाई अन एराइभल भिसा दिने गरेको अधिकारीहरू बताउँछन्।

सरकारले गत जेठदेखि विदेशी नागरिकको अनुगमन गर्ने एउटा छुट्टै निर्देशिका लागु गरेको छ। उक्त निर्देशिका अनुसार हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा विदेशी नागरिकको अनुगमन गर्ने संयन्त्र रहेको छ।

त्यस्तै संयन्त्रको सिफारिसमा कतिपयलाई निष्काशन गरिएको अधिकारीहरू बताउँछन्। बीबीसीबाट