पर्वतमा गाउँपालिकाले थाल्यो बाँदर समात्ने अभियानः ३०० बाँदर नियन्त्रणमा

नियन्त्रण अभियानका लागि ११ लाख खर्च

पर्वत । महाशिला गाउँपालिकाले झण्डै ३३० बाँदर नियन्त्रणमा लिएर चितवन राष्ट्रिय निकुञ्जमा पुर्याएको छ ।

बाँदरले बालीनाली सखाप पारेको गुनासो आएपछि महाशिलाले बाँदर समात्ने अभियान नै चलाएको छ ।

बाँदर समातेर चालू आर्थिक वर्षको कात्तिकसम्म नियन्त्रणमा लिइएका बाँदर गत साता निकुञ्जमा पुर्‍याइएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिए।

बाँदर नियन्त्रणमा लिनका लागि ११ लाख रुपैयाँभन्दा बढी खर्च भएको उनले जानकारी दिए। गाउँपालिकाले बाँदर नियन्त्रणका लागि चालू आर्थिक वर्ष ०७५् ७६ मा १५ लाख विनियोजन गरेको छ।

यसमध्ये ११ लाख खर्च भइसकेको प्रवक्ता उच्चैले जानकारी दिए। गाउँमा उत्पादित फलफूल, मकै, धान, तरकारी, आलु बाँदरले सखाप पारेपछि महाशिलाको गाउँसभामा बाँदर नियन्त्रण गर्न प्रस्ताव पारित गरिएको थियो ।

भोक्सिङ, लुंखु, बालाकोट, पाखापानी, फलामखानी र होश्राङीमा बाँदरले मकै, कोदो, गहुँ, धान, फलफूल र तरकारी बाली सखाप पार्ने गरेकोमा गएको साउनदेखि यता धेरै नियन्त्रण भएको महाशिला–५ की सरस्वती अधिकारीले बताए। रासस