तीन थान भरुवा बन्दुकसहित गुल्मीबाट एक जना पक्राउ

अनुसन्धान प्रकृया जारी

गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले धुर्कोट गाउँपालिका, ३ हाडहाडेका ५१ वर्षीय शेरबहादुर जिसीलाई घरमा अवैध आरन सञ्चालन गरी भरुवा बन्दुक बनाएको अभियोगमा पक्राउ गरेको छ ।

प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी भरुवा बन्दुक बनाउन प्रयोग हुने सामग्रीसहित जिसीलाई सार्वजनिक गरेको हो ।

जिसीको घरबाट तीन थान भरुवा बन्दुक, मेडइन कोलकत्ता लेखिएको एक थान टोय एर गन, दुई थान बन्दुकको नाल र बन्दुकको छर्रा बनाउन प्रयोग हुने रड, बारुद, बन्दुकको टेगर, सटगनको खोका लगायतका सामाग्री बरामद गरेको प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले बताए ।

विशेष सुचनाका आधारमा अनुसन्धान गर्दै जाँदा इलाका प्रहरी कार्यालय पुर्कोटबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले हतियार बनाउने कारखानासहित जिसीलाई पक्राउ गरेको हो ।

पक्राउ परेकालाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ । रासस