क्रान्तिकारी ट्रेडयुनियनका नेताहरु देशव्यापी संगठन विस्तारमा: प्रदेश पाँचको भेला सम्पन्न

राजु भुजेलको नेतृत्वमा १३ सदस्यीय समिति निर्वाचित

काठमाडौं । बुटवलमा आयोजित एक भेलाले राजु भुजेलको संयोजकत्वमा १३ सदस्यीय अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासंघको पाँन नम्बर प्रदेश स्तरिय समिति निर्वाचित गरेको छ ।

शनिवार सम्मपन्न अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासंघको प्रदेश नम्बर पाँचको भेलाले उक्त समिति निर्वाचित गरेको हो । गठित महासंघ नेकपा (क्रान्तिकारी माओवादी) निकटको ट्रेडयुनियन हो ।

उक्त भेलाबाट प्रदेश पाँचको सहसंयोजकमा नरेन्द्र बञ्जाडे र सदस्यहरुमा दर्शन गुरुङ (रुपन्देही), चन्द्रप्रसाद पोखरेल (प्युठान), विराट शाही (बाँके), ज्ञानबहादुर केसी (नवलपरासी), मिलन विक (कपिलवस्तु) र दण्ड पुलामी (गुल्मी) निर्वाचित भएका छन ।

भेलामा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय संयोजक ईश्वर तिमिल्सिना, नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य समीर, ट्रेड युनियन महासंघका केन्द्रीय सचिवालय सदस्य दिनेश बर्तौला लगाएतको विशेष उपस्थिति रहेको थियो ।

क्रान्तिकारी ट्रेड युनियन महासंघका संयोजक तिमिल्सिनाले देशभर संगठन विस्तारको नीति अनुसार अहिले प्रदेश स्तरिय भेला तथा पेशागत हक, हित र अधिकारको लागि गर्नुपर्ने संघर्षका विषयमा छलफल चलिरहेको बताएका छन ।

संयोजक तिमिल्सिनाले महासंघको सम्मेलन भव्य रुपमा गर्ने तयारी अनुरुप अहिले भेला तथा सम्मेलन तयारी समितिको गठनमा जोड दिएको बताएका छन ।

उनले सबै कर्मचारी, मजदुर तथा श्रमिकहरुको पेशागत अधिकारका लागि बोल्ने जुझारु संठगनको रुपमा महासंघ अघि बढेको समेत बताए ।

नव निर्वाचित समितिको पहिलो बैठकले मजदुर अधिकार विरोधी सहकारी र व्यवसायीहरुका विरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ ।

त्यसैगरी फागुनको अन्तिम हप्तासम्ममा भव्य रुपमा प्रदेश भेला गर्ने निर्णय समेत पारीत गरेको जनाइएको छ ।