वाइडबडी खरिदको भ्रष्टाचारमा मुछिएकालाई तत्काल कारबाही हुँदैनः मन्त्री बाँस्कोटा

प्रकरणको अन्तिम निस्कर्ष नआएको दावी

काठमाडौँ । सरकारको सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले वाइडबडी जहाज खरिदमा भएको भ्रष्टाचारमा मुछिएकाहरुलाई तत्काल कारबाही नगर्ने बताएका छन् ।

जहाज प्रकरणको विषयमा छानबिन गर्न सरकारले आयोग गठन गरेको भन्दै आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्कोटाले त्यस्तो बताएका हुन ।

मन्त्रिपरिषद्को निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले संसदको लेखा समितिले र उपसमितिको बनाएको प्रतिवेदनमा फरक देखिएकाले त्यो विषयमा अन्य समितिहरुले समेत छानबिन गरिरहेको कारण अहिलेनै कारबाही नहुनेबारे प्रष्ट पारे ।

यथार्थ विवरण नआएको कारण कारबाहीमा तत्काल जान नसकिने भन्दै उनले भने–‘अहिले नै कारबाही नगर्नूको अर्थ कसैलाई कारबाही नगरिने भन्ने होइन, छानबिन समितिले अन्तिम निस्कर्ष निकालेपछि कारबाहीमा जान्छौं । छानबिन गर्न बनेका समिति तथा सरकारले बनाएको आयोगको प्रतिवेदनमा एक रुपता आएपछि त्यो प्रकृयामा जान्छौं ।’

संसदको सार्वजनिक लेखा समितिको बैठकले उक्त प्रकरणको छानबिन गर्न बनाएको उपसिमितले तयार पारेको प्रतिवेदनमा छलफल गरी संशोधन समेत गरी सकेको छ ।

संशोधन गरिएको प्रतिवेदनले यसअघि नै वायु सेवा निगमका सञ्चालक समिति सदस्य सचिव तथा महाप्रबन्धक सुगतरत्न कंसाकारलाई आर्थिक अनियमिततामा प्रमुख भूमिका खेलेको भन्दै तत्काल निलम्बन गरी कारबाही गर्न निर्देशन दिइसकेको छ ।

उपसिमितको संशोधित प्रतिवेदनले तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन सचिव प्रेमकुमार राईलाई सफाई दिएको र संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारी र तत्कालीन मन्त्रीहरु जीवनबहादुर शाही र जितेन्द्र नारायण देवलाई नैतिक जिम्मेवारीमा बदनियत देखिएको भन्दै कारबाही सिफारिस गरेको थियो ।

नेपाल वायु सेवा निगमको दुईवटा वाइड बडी जहाज किन्दा करिव ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको भन्दै सर्वत्र विरोध गरिएको भएपनि अहिलेसम्म कसैलाई कारबाही हुन सकेको छैन ।