‘नागरिकका लागि देशभन्दा ठूलो कुनै विचार हुँदैन’: ज्ञानेन्द्र शाह

२९७ औँ पृथ्वी जन्मजयन्तीको शुभकामना व्यक्त

काठमाडौं । जनताले राजतन्त्रात्मक व्यवस्थालाई तानासाह र निरंकुश व्यवस्थाको संज्ञा दिदैँ खारेज गरेका पूर्वराजा ज्ञानेन्द्र शाहले आज नागरिकका लागि देशभन्दा ठूलो कुनै वाद वा विचार हुन नसक्ने बताएका छन् ।

शुक्रबार परेको पृथ्वी नारायण शाहको २९७ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्व सन्ध्यामा पूर्व राजा ज्ञानेन्द्र शाहले शुभकामना सन्देश दिदैँ त्यस्तो बताएका हुन ।

उनले शुभकामना संन्देश मार्फत भनेका छन–‘एउटा नागरिकका लागि देशभन्दा ठुलो कुनै वाद वा विचार हुन सक्दैन् ।’

ज्ञानेन्द्र शाहले भनेका छन–‘पृथ्वीनारायण शाहको उपदेशको मर्मअनुरुप अहिले व्यवहार गर्न नखोज्दा मातृभूमिको अस्तित्वमा घात प्रतिघातकोे कालो बादल मडारिएको छ ।’

उनले राष्ट्र निर्माणमा बलिदान गर्ने तमाम वीर वीरङ्गना एवम् सपूतहरुको उत्सर्ग विर्संदा देश आज ‘सकसपूर्ण र कपटपूर्ण अवस्थामा गुज्रेको दाबी गरे ।

स्वतन्त्र राष्ट्रको सबैभन्दा महत्वपूर्ण दिन भनेको राष्ट्र निर्माणको दिन भएको भन्दै शाहले राष्ट्र निर्माणमा बलिदान गर्ने वीर वीरङ्गना एवम् सपुतहरुको उत्सर्ग कहिल्यै भूल्न नसकिने बताए ।