सरकारले शक्तिको दुरुपयोग गरेर चिकित्सा विधेयक ल्याएको नेता थापाको आरोप

पुनःविचार गर्न सरकारसँग आग्रह

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसद गगनकुमार थापाले चिकित्सा शिक्षा विधेयक प्रतिवेदन संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा बहुमतबाट पारित गरेर शक्तिको दुरुपयोग गरेको आरोप लगाएका छन ।

प्रतिनिधिसभाको बैठकपछि आज सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सरकारले उक्त विधेयक प्रतिवेदन बहुमतले पारित गरेर डा. गोविन्द केसीसँग भएको सम्झौता र आम जनताको भावनाविरुद्धमा काम गरेको टिप्पणी गरे ।

सांसद थापाले सरकारले केही मेडिकल व्यवसायीका लागि नागरिकको स्वास्थ्यसँग जोडिएको विषयलाई बेवास्ता गरेको उल्लेख गर्दै यसबारेमा पुनःविचार गर्न सरकारसँग आग्रह गरें । रासस