चार दिनमा २४ पक्राउः तस्करदेखि लागुऔषध कारोवारी पुगे प्रहरी खोरमा

प्रहरीद्धारा अनुसन्धान जारी

काठमाडौं । प्रहरी परिसर काठमाडौँले पछिल्लो चार दिनमा विभिन्न घटनामा संलग्न २४ लाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको छ ।

प्रहरीले लागुऔषध कारोवारीमा संलग्न रहेको आरोपमा १०, ठगी प्रकरणका १० र अन्य विभिन्न घटनामा संलग्न रहेका चार जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।

परिसरका प्रवक्ता होविन्द्र बोगटीका अनुसार पुस २३ गते काठमाडौंको नागढुङ्गामा गाडी जाँचका क्रममा बर्दियाका सुरेश लामिछानेलाई र काठमाडौँ सुकेधाराबाट अन्य तीन गरी चार जनालाई खैरो हेरोइनसहित पक्राउ गरेको हो ।

नागढुङ्गाबाटै एककिलो चरेशसहित धादिङ किराञ्चोकका सुरेश तामाङ, नाइट्राभेट र स्पास्मो ६३ ट्याबलेटसहित दुई र काठमाडौँको तीनकुनेबाट नाइट्राभेट १९५ ट्याबलेटसहित तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

काठमाडौँको कपनबाट सुनजस्तो देखिने एक किलो पहेँलो धातु र नगद रु तीन लाख ७० हजारसहित लाक्पा शेर्पालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

शेर्पा यसअघि पनि नक्कली सुनसहित तीन पटक पक्राउ परी धरौटीमा रिहा भएका र विसं २०५५ मा कर्तव्य ज्यान मुद्दामा ११ वर्ष सजाय भुक्तान गरेका व्यक्ति रहेको खुल्न आएको प्रवक्ता बोगटीले जानकारी दिए । रासस