काठमाडौंमा सवारी दुर्घटनाः एकको मृत्यु, चार घाइते

एकको अवस्था गम्भीर

काठमाडौं । बाटो काट्ने क्रममा पैदलयात्रुलाई माइक्रोबसले ठक्कर दिँदा आज काठमाडौंको सामाखुसी चोकमा एकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन ।

महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका अनुसार आज आज दिउँस १२ बजेतिर चक्रपथ–बौद्ध जोरपाटी चल्ने बा १ ज ९७६६ नम्बरको माइक्रो बसको ठक्करले उक्त दुर्घटना भएको हो ।

दुर्घटनाबाट गम्भीर घाइते भएका धूम्रबाराही बस्ने ५५ वर्षीय सीता दाहालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । दाहाललाई उपचारका लागि सामाखुसीस्थित अल नेपाल अस्पतालमा लगिएको थियो ।

त्यस्तै उक्त दुर्घटनाबाट कोटेश्वर बस्ने सरिता अधिकारी, उनका श्रीमान् सुशील अधिकारी, अल नेपाल अस्पतालमा कार्यरत नर्स सपना राई र लक्ष्मी सापकोटा लगायत घाइते भएको र उनीहरुको उपचार भैरहेको प्रहरीले बताएको छ ।

उपचारार्थ घाएतेहरु मध्ये अरुको अवस्था सामान्य भएपनि सापकोटाको अवस्था अझै गम्भीर अवस्थामा रहेको बताइएको छ ।

प्रहरीले दुर्घटना गराउने सवारी साधन र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ ।