हेर्नुहोस्, मध्यराति बजारमा यसरी दन्क्यो आगोः ९ वटा पसल जलेर नष्ट, लाखौंको क्षति

आगलागी गराएको आशंकामा एक पक्राउः अनुसन्धान जारी

फाईल तस्बिर

डडेलधुरा । मध्यराति डडेलधुराको अमरगढी नगरपालिका–५, बगरकोटमा भिषण आगलागी भएको छ । आगलागीबाट लाखौंको धनमाल जलेर क्षति भएको बताइएको छ ।

प्रहरीका अनुसार सबै मानिसहरु मस्त निन्द्रामा भएको समयमा आइतबार (हिजो) राति १२ः३० बजेतिर ति पसलहरुमा आगलागी भएको हो ।

आगलागी भएको खबर पाए लगत्तै त्यहाँ अमरगढी नगरपालिकको दमकल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको अक्ष्नी नियन्त्रण टोलि पुगेको बताइएको छ ।

आगलागी भएको करिब २ घण्टापछि मात्र स्थानीयवासी र सुरक्षा निकायको संयुक्ति प्रयासबाट आगो नियन्त्रणमा आएको थियो । आगलागीबाट त्यहाँ रहेका ९ वटा पसलका सामानहरु जलेर क्षतिग्रस्त भएको छ ।

प्रहरीका अनुसार आगलागीका कारण के कतिको क्षति भयो अझै खुल्न सकेको छैन । स्थानीयले त्यहाँ लाखौंको धनमाल जलेर नष्ट भएको बताएका छन ।

आगलागी कसरी भयो भन्ने अझै यकिन नभएपनि त्यहाँ एक महिना दिनभित्र पटक पटक त्यस्ता घटनाहरु दोहोरिएको भन्दै प्रहरीले त्यसमा अनुसन्धान थालेको जनाएको छ ।

त्यहाँ महिना दिनमा चार पटक आगलागीको घटना भएपनि कारण अझै खुल्न सकेको छैन ।

यसरी पटक पटक रातको समयमा आगलागी हुन थालेपछि स्थानीयवासीहरु आतंकित बन्दै गएका छन । उनीहरुले सुरक्षा खतरा बढेको भन्दै चिन्ता गरेका छन ।

आगलागीको घटनामा संलग्न रहेको भन्दै प्रहरीले त्यहाँ एक जनालाई नियन्त्रण लिएर अनुसन्धान शुरु गरेको बताएको छ ।

जिल्ला प्रहरी कार्यालय डढेलधुराले घटनाको विषयमा छिट्टै सत्य कुरा सार्वजनिक गरिने बताएको छ ।

प्रहरीले घटनामा संलग्न भएको आशंकामा पक्राउ गरेका मानिसको बारेमा अहिले केहि पनि खुलाउन चाहेन । उनी आगलागी भएका व्यापारीकै आफन्त रहेको खुल्न आएको छ ।

त्यहाँ तग दुई साताभित्र चार पटक आगलागीको घटना भएको र दुई दर्जन बढि पसलहरु जलेको बताइएको छ ।

अघिल्लो समय तीन पटक भएको आगलागीबाट त्यहँँ करिब ८७ लाख बराबरको क्षति भएको छ ।