कित्ताकाट गर्दा घुस लिने नापी कार्यालयका कर्मचारी पक्राउ

रु २० हजार घुस लिएको खुलासा

चितवन । उपभोक्ता अधिकार संरक्षण मञ्च चितवन शाखाले भरतपुर नापी कार्यालयका एक कर्मचारीलाई रु २० हजार घुस लिएको अभियोगमा पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ ।

पक्राउ परेका उक्त कार्यालयका नापी अधिकृत राजेश कर्माचार्यले बिहीबार भरतपुर महानगरपालिका–१० हाकिमचोकका विष्णु पौडेलको जमीन कित्ताकाट गर्ने क्रममा घुस मागेका थिए ।

पौडेलले बुझाएका नोटको फोटो खिचेर आफ्नी बहिनीमार्फत उनलाई दिइएको थियो ।

सोही नोटको नम्बरका आधारमा उनलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा बुझाइएको उक्त शाखाका अध्यक्ष विष्णु भुसालले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले घुस रकमसहित पक्राउ परे पनि अख्तियारलाई खबर नगरेका कारण निजामती सेवा ऐनअनुरुप मुद्दा अगाडि बढाइने जानकारी दिए । रासस