निर्मला हत्या घटनामा लापरबाही गर्ने आठ प्रहरीविरुद्ध मुद्दा चलाउन निर्देशन

१० प्रहरीलाई विभागीय कारबाही

काठमाडौं । बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा लापरबाही गर्ने आठ प्रहरीविरुद्ध मुद्दा चल्ने भएको छ ।

अनुसन्धानमा प्रमाण नष्ट गरेको र निर्दोष व्यक्तिलाई पक्राउ गरेर यातना दिएको आरोपमा आठ प्रहरीविरुद्ध मुद्दा चलाउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको हो ।

एआइजी धिरू बस्न्यात नेतृत्वको छानबिन समितिको प्रतिवेदनका आधारमा मुद्दा चलाउन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई निर्देशन दिएका हुन् ।

प्रमाण नष्ट गरेकोमा आठ प्रहरीलाई सार्वजनिक न्यायविरुद्धको कसुर मुद्दा तथा निर्दोषलाई यातना दिएकोमा यीमध्ये चारलाई यातनासम्बन्धी मुद्दासमेत चलाउने निर्णय भएको छ ।

सेवाबाट हटाइएका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टसहित अवकाशप्राप्त डिएसपी ज्ञानबहादुर सेठी, डिएसपी अंगुर जिसी, इन्सपेक्टर एकेन्द्र खड्का, सइहरू रामसिंह धामी, हरसिंह धामी र प्रहरी जवान चाँदनी साउदलाई सार्वजनिक न्यायविरुद्धको कसुर मुद्दा चलाउन निर्देशन दिइएको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो ।

एसपी विष्ट, डिएसपीद्वय सेठी र जिसी तथा इन्सपेक्टर खड्कालाई भने दिलीपसिंह विष्टलाई यातना दिएर अपराध कबोल गर्न लगाइएकोमा यातनासम्बन्धी मुद्दासमेत चलाउन निर्देशन भएको छ ।

प्रहरी प्रधान कार्यालयको निर्देशनअनुसार आठजना प्रहरीविरुद्ध मुद्दा प्रक्रिया अघि बढाउन लागिएको कञ्चनपुर प्रहरी स्रोतले पनि पुष्टि गर्यो ।

उनीहरूलाई हिरासतमै राखेर मुद्दा चलाउन लागिएको छ । एआइजी बस्न्यात नेतृत्वको समितिको प्रतिवेदन कञ्चनपुर पठाइएको छ ।

गत १० साउनमा निर्मलाको बलात्कारपछि हत्या भएको थियो । प्रहरीले सातजना शंकास्पद व्यक्तिलाई थुनामा राखेर अनुसन्धान गर्दा पनि अभियुक्त फेला पार्न सकेको छैन ।

हाल सिआइबीका एसपी सुदीप गिरी नेतृत्वको टोलीले कञ्चनपुरमा बसेर घटनाको अनुसन्धान गरिरहेको छ  । सार्वजनिक न्यायविरुद्धको कसुरको दफा ८९, ९१, ९२, ९६ र ९९ अनुसार आठैजनालाई मुद्दा चलाउन निर्देशन दिइएको छ ।

१० प्रहरीलाई विभागीय कारबाही

बस्न्यात नेतृत्वको छानबिन समितिले अनुसन्धानमा चरम लापरबाही गरेको आरोपमा १८ प्रहरीलाई कारबाही गर्न सिफारिस गरेको थियो । अन्य १० प्रहरीको हकमा भने विभागीय कारबाही हुने भएको छ ।

इन्स्पेक्टर गणेश सापकोटा, सइहरू वासुदेव अवस्थी, डिकरदेव पन्त, हवल्दारहरू धर्मसिंह भाट, धर्मेन्द्रसिंह विष्ट र दीपक विष्ट तथा जवानहरू लालबहादुर विष्ट, माधव खत्री, सुरेन्द्रसिंह कुँवर र शुभराज महतरालाई विभागीय कारबाही मात्र हुने भएको हो ।

प्रहरीको कानुन शाखाले उनीहरूविरुद्ध विभागीय कारबाहीको प्रक्रिया सुरु गरेको छ । यो समाचार आजको नयाँ पत्रिकामा प्रकशित छ ।